कोरोना सम्बन्धी खर्चलाई मितब्ययी र पारदर्शी बनाउन सासंद केसीको माग

  • १४ जेष्ठ २०७७, बुधबार
  • 1123 पटक पढिएको

बेनी, १४ जेठ । म्याग्दी क्षेत्र (क)बाट निर्वाचित गण्डकी प्रदेशका सांसद बिनोद केसीले कोरोना रोकथाम, राहत, औषधी, उपचार र व्यवस्थापकीय काममा हुने खर्च प्रणालीलाई मितब्ययी र पारदर्शी बनाउन माग गर्नुभएको छ ।

गण्डकी प्रदेश सभाको बुधबार पोखरामा बसेको बैठकको बिशेष समयमा बोल्दै सांसदले कोरोना महामारी रोकथाम, नियन्त्रण, ब्यवस्थापन, बिरामीको औषधी उपचारलाई प्रभावकारी बनाउनुका साथै खर्च प्रणालीलाई पारदर्शी र मितब्ययी बनाउन माग गर्नुभएको हो ।

‘कोरोनाको जोखिम र संक्रमण अझै बढ्ने अवस्था छ तर अहिलकै शैलीमा गरिएको खर्चले राज्यले थेग्न सक्छ ?,’ सांसद केसीले प्रश्न गर्नुभयो ‘सामाजिक विकास मन्त्रालयमा आएको बागलुङका दुई जना संक्रमितको उपचारमा भएको खर्चको बिलले झस्काएको छ ।’

तीनै तहका सरकारले बिनियोजन गरेका बजेटको पारदर्शी, मितब्ययी रुपमा परिचालन गर्नुपर्ने र अनावश्यक खर्च कटौति गर्न तथा अनुगमनका लागि संयन्त्र बनाउन माग गर्नुभयो । कोरोना रोकथाम र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन बजेटको अभाव हुने अवस्था आएमा आफूहरुको सेवा सुबिधा कटौति गरेर भएपनि बजेट बिनियोजन गर्न सरकारसँग आग्रह गर्नुभयो ।