म्याग्दीका माननीयलाई शिक्षक पाण्डेकाे खुला पत्र, शिक्षा क्षेत्र किन उपेक्षित भयाे ?

  • १३ जेष्ठ २०७७, मंगलवार
  • 1940 पटक पढिएको

माननीय भूपेन्द्रबहादुर थापा ज्यू,
प्रतिनिधि सभा सदस्य
संघीय निर्वाचन म्याग्दी जिल्ला ।

थममाया थापा
प्रतिनिधि सभा सदस्य, म्याग्दी
आज बिश्वभर मानव समुदाय कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । संक्रमणकै बिचमा भारतीय बिस्तारबाद नेपाल आमाको अस्मिता माथि धावा बोल्दै थप पीडा दिइरहेको छ,यसको शसक्त प्रतिरोध नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार अनि तपाईं जनप्रतिनिधिहरुले गरिरहनुभएको छ । यसप्रति धन्यवाद ब्यक्त गर्दै हामी शिक्षक कर्मचारीहरु पनि संगै रहेको प्रतिबद्धता जाहेर गर्दछौं । माननीय ज्यू,हामी शिक्षक कर्मचारी हरुले तपाईलाई जनताको बिचमा उम्मेदवार बनाउने पार्टीको शिक्षासम्बन्धि प्रतिबद्धता पत्र र तपाईंले जनता र समाजको लागि गर्नुभएको योगदान अनि तपाईंको जनताप्रतिको अटल आस्था र बिश्वासलाई जनतामा लग्यौ, फलस्वरूप तपाईं निर्बाचित हुनुभयो।

माननीय ज्यू आज कम्युनिष्ट पार्टीको सरकार बनेको पनि २ बर्ष बितिसकेको छ, शिक्षा क्षेत्रमा बिगतको नीति र कार्यक्रम अनि बजेटले संविधानको मर्म र भावना अनि हाम्रो न्युनतम आदर्शलाई सम्बोधन गर्न सकेन,नीति र कार्यक्रम प्रभावकारी हुँदाहुदै पनि न्यून बजेटको बिनियोजनले कार्यान्वयन हुन सकेन। यसवाट शिक्षा क्षेत्र अन्याैलतन, अकर्मण्यता र संकटपूर्ण अवस्थामै रहिरहेकाे छ। पूर्वाधारको पनि पूर्वाधार रहेको शिक्षा क्षेत्रको यो हबिगतले नेपाल सरकारले घोषणा गरेको समृद्ध नेपाल सूखी नेपालीको परिकल्पना पूरा होला र माननीय ज्यू? माननीय ज्यू करोडौं खर्चेर आधा बर्ष लगायर बनाएको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन ,शिक्षा क्षेत्रमा भएको द्वैत शिक्षा नीतिले संविधान घोषणा भएको ५ बर्ष पुगिसक्दा पनि संघीय शिक्षा ऐन आउन नसक्नु ,अनिवार्य र निशुल्क शिक्षाको ऐन पारित भईसक्दा पनि न्यून बजेटको कारणले कार्यान्वयन हुन सकेकाे छैन।

बिसौं बर्षदेखि शिक्षा क्षेत्रमा राहत अनुदानमा शिक्षकहरु कार्यरत छन् । पछिल्लो समयमा स्वयम् सेवक र अनुदननका शिक्षक थपिएका छन्। नीति र कार्यक्रममा स्वास्थ्य क्षेत्र समृद्ध गर्ने योजना बनाएकाे छ तर शिक्षक अस्पताल अट्न सकेन। होइन माननीय ज्यू? शिक्षक कर्मचारी हरु यो देशमा सौतेनी आमाको छोराछोरी भैरहनुपर्ने हो र ? माननीय ज्यू राज्य यति सम्म श्रमको शोषण गर्छ कि आफैं श्रम ऐन २०७४ घोषणा गर्छ न्युनतम तलबमान कायम गर्छ अन्य सेवामा कार्यान्वयन गर्छ शिक्षा क्षेत्रमा हुदैन किन?

३६ हजार बाल बिकास शिक्षकहरुको तलबमान रु ६ हजार मात्र ,३२ हजार बिद्यालय कर्मचारीको तलबमान २५ सय देखि ११००० सम्म मात्र छ किन त माननीय ज्यू ? यी शिक्षक कर्मचारीहरुको गत आर्थिक बर्ष बढेको १८-२०% तलबमान पनि अर्थमन्त्रालयको सिलिङ भित्र परेन , किन ? माननीय ज्यू यिनै उत्पीडित समुदायको समाज ,नारा र मतबाट बिजय हुनुभएको होइन र? यिनको मानबीय ढंगले गुजारा चल्ला ? अनि भोको पेटले गुणस्तरीय शिक्षा संभावना होला ? माननीय ज्यू सरकारले नीति र कार्यक्रम पनि घोषणा गरिसकेको छ यी शिक्षक कर्मचारीहरु निरास छन्, तपाईं र तपाईंको पार्टीलाई गरेको मतदान प्रति पछुतो मानिरहेका त छैनन?

माननीय ज्यू सरकारले थुप्रै राम्रा कामहरु पनि गरिरहेकाे छ् तर शिक्षा क्षेत्र प्राथमिकतामा परेन किन ? माननीय ज्यू सम्माननीय प्रधानमन्त्री ज्युबाट श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने घोषणा गरिरहदा नेपाल नयाँ युगमा प्रवेश गरेको अनुभुती हुन्थ्यो तर नीजि बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु अझै सामाजिक सुरक्षा कोषमा दर्ता हुन सकेका छैनन ।यी पनि तपाईंहरुकै मतदाता होइनन् र ? यी यी समुदायहरुले तपाईं र तपाईंको चुनावी चिन्नमा मतदान गरिरहदा के कल्पना गरे होलान ?तपाईंले यसरी पछाडि फर्किएर पनि सोच्नु भएको छ त ? आज सिङ्गो राष्ट्र संक्रमणमा छ,शिक्षा क्षेत्र झनै लथालिङ्ग छ बिद्यार्थीहरु १० औं बर्षको लगानीको प्रतिफल एस ई ई परीक्षा केन्द्रको गेटमा पुगेर परीक्षा दिन नपाई फर्किएका छ्न,मनोबैज्ञानिक त्रासमा छ्न,अभिभाबकहरु पीडामा छन,अन लाइन कक्षाको रिउमर चलिरहेको छ।

शहरबजारको नीजि बिद्यालयहरु बिद्यार्थी आकर्षक गर्ने नाममा अनलाइन शिक्षारुपी अफबाह फैलाई रहेको छन् यसले मुलुकमा खतरनाक द्वन्द्व निम्ताउदैछ। यतिबेला दुरदराजका बिद्यार्थीहरुको घर सम्म पाठ्यसामग्री पुग्नु नै भाग्यमानी सम्झिनुपर्ने बाध्यता छ ।आज गाउँका सरकारी बिद्याययहरु क्वारेन्टाइन बनिरहेका छ्न विद्यार्थीहरु भौतारी रहेका छन । यी युवा बिद्यार्थीहरु भबिस्यका देशका निर्माता हुन । यिनीहरुको बिश्वास जित्न सके आउदो निर्वाचन तपाईं र तपाईंको पार्टीलाई सहज हुनेछ र अन्यथा बिहारी शैलीको खरिद बिक्रि को अनैतिक निर्बाचनको सामना गर्न तयार हुनुपर्ने छ। यी हाम्रो आवाजहरु शिक्षामा थप संक्रमण ल्याउन नदिने उदेश्यका साथ हुन। हामी शिक्षा क्षेत्रका शिक्षक कर्मचारीहरु लकडाउनको प्रतिकुलतालाइ अनुकूलतामा बदल्दै समाजको चाहाना ,इतिहासको आवास्यकता र बर्तमान परिवेशलाइ आकलन गरि बिश्वसंग प्रतिस्पर्धा गर्न सक्ने बिद्यार्थी र गुणस्तरीय शिक्षा दिन सक्ने प्रबिधिमैत्री शिक्षक बन्न तयारी गरिरेका छौं ।

माननीय ज्यू आशा छ ०७७/०७८ को बजेट बिनियोजनमा हाम्रा मुद्दाहरूको सुनुवाइ हुनेछ। नेपालको सार्बभौमसत्ता ,आत्मनिर्भर अर्थतन्त्र र बदलिँदो परिवेशकाे नया शिक्षा नीति निर्माण गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बजेटको बिनियोजन हुनेछ। । समाजबाद उन्मुख नेपाली जनताको मतको अवमूल्याङ्कन गर्नुहुने छैन भन्ने अपेक्षा सहित !!
होमनाथ पाण्डे,
अध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति,
म्याग्दी
मिति २०७७/०२/१३