बेनीका बेवारिसेलाई लायन्स क्लवले निःशुल्क खाना खुवाउने, बेनीबजारमा घुम्न नदिइने

  • १२ जेष्ठ २०७७, सोमबार
  • 1119 पटक पढिएको

बेनी १२ जेठ । बेनीका सडकमा अलपत्र र बेवारिसे अवस्थामा भेटिएकालाई सामाजिक तथा परोपकारी संस्था लायन्स क्लव अफ पिस सिटीले निःशुल्क खाना खुवाउने भएको छ । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गरी खुल्लामञ्चस्थित टहरामा राखिएको अवस्थामा केहीदिन यता भोकभोकै रहेको अवस्थामा क्लवले सोमबार विहानदेखि खाना खुवाउन सुरू गरेको क्लवका संस्थापक अध्यक्ष राजेश शाक्यले बताउनुभयो । क्लवले खुल्लामञ्चमा बस्ने ५ जनालाई विहान र बेलुकी खाना खुवाउने गरी जिम्मेबारी समेत तोकिसकेको छ ।

लकडाउनको अवधिसम्म क्लवको पहलमा अन्य सहयोगी संस्थाहरु समेत इच्छुक भएमा सहकार्य गर्न सकिने क्लवका अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कोरोनाको जोखिम सुरु भएदेखि नै समुदायस्तरमा मास्क, सावुन बेनपाका विभिन्न वडामा खाद्यान्न वितरण तथा अपाङ्गता भएकालाई सहयोग, भोका पशुचौपायालाई दाना लगायतका कार्यहरु गरेको बताउनुभयो ।बेवारिसेलाई खाना खुवाउने विषयमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी,बेनी नगरपालिकाको मेयर हरिकुमार श्रेष्ठ सहितको टोली, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

लकडाउन लगत्तै म्याग्दी बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष बालकृष्ण सुबेदीले ब्यक्तिगत रुपमा खुवाउनुभएको अवस्थामा बेनी नगरपालिकाले जिम्मा लिएर करिब ५४ हजारको खाना खुवाएपछि रोकिएको अवस्थामा लायन्स क्लवले उक्त जिम्मेबारी लिएर खाना खुवाउने काम सुरु भएको छ । भोकले छटपटाउँदै बेनीबजारमा माग्दै हिड्ने गरेको अवस्थामा रक्सी समेत माग्ने गरेको भन्दै रक्सी बेच्ने र दिनेलाई कारवाही गर्ने जिल्ला प्रशासनले चेतावनी दिएको छ । बेवारिसेबाट रोगको संंक्रमणको जोखिम भएकाले आफ्नो घरटोलमा आएमा तुरुन्तै प्रहरीलाई जानकारी दिन समेत अनुरोध गरिएको छ ।