भारतमा अल्पत्र म्याग्देलहिरुको उद्धार सुरु, म्याग्दी क्याम्पसमा ५१ जना क्षमताको क्वारेन्टिन निर्माण (भिडियो सहित)

  • ९ जेष्ठ २०७७, शुक्रबार
  • 1823 पटक पढिएको

म्याग्दी, ९ जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणका लागि गरिएको लकडाउन(बन्दाबन्दी)ले भारतीय सिमा नाकामा अलपत्र परेका म्याग्देलीहरुको उद्धार गर्न थालिएको छ ।

नाकामा अल्पत्र परेकाहरुलाई सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय, प्रहरीसंगै यहाँका स्थानीय तहहरुसंगको समन्वयमा उद्धार गर्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतबाट उद्धार गरिएकाहरुलाई राख्नका लागि बेनीमा क्वारेनटाइन (एकान्तबास)को क्षमता समेत विस्तार गरिएको छ ।

यस अघि बेनीमा न्यू वेष्ट प्वाइन्ट आवसीय माविमा ३० जना क्षमताको क्वारेनटाइन सञ्चालनमा रहेकोमा शुक्रवार म्याग्दी बहुमुखी क्याम्पसमा थप ५१ जना क्षमताको क्वारेनटाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
क्वारेनटाइन निर्माणमा नेपाली सेनाको पुरानो १०, नेपाल प्रहरीको १२ र म्याग्दी बहुमुखी क्याम्पसकै छात्राबासका १८ वटा खाटलाई प्रयोग गरिएको छ भने होटल शिखर र यति होटलले समेत बेडविस्तारा सहयोग गरेका छन् । ब्यबस्थापकिय पक्षलाई मध्यनजर गर्दै यस अघि हिलसाईटमा रहेको माउण्ट एभरेष्टमा बनाइएको क्वारेनटाइनलाइ हटाईएको छ ।


म्याग्दी क्याम्पसले उपलब्ध गराएको भवनमा क्वरेनटाइन स्थापना गर्न नेपाल प्रहरी, नेपाली सेनाको श्रीबक्स गुल्म र शसस्त्र प्रहरीको गलेश्वर बेस क्याम्पका साथै विद्यार्थी र युवा संगठनका स्वयमसेवकहरुले सहयोग गरेका थिए । क्वारेनटाइनमा आबश्यक थप सामाग्रीहरु जिल्लामा रहेका सबै स्थानीय तहहरुको समन्वयमा जुटाईने बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो । ‘‘सिमा नाकामा अल्पत्र परकोहरुलाई कमाण्ड पोष्टकै अगुवाईमा ल्याइदैछ, उनीहरुलाई बेनीमा सुरक्षित रुपमा राख्ने र खाना खाजा लगायतको खर्च स्थानीय तहहरु मार्फत व्यहोर्ने गरि समन्वय भैरहेको छ’’–उहाँले भन्नुभयो । अल्पत्र परेर जिल्लामा आएकाहरुको यातयात खर्च समेत स्थानीय तहहरुले व्यहोर्ने भएका छन् ।


अहिलेसम्म सिमा नाकामा करिब ६० जना अल्पत्र परेर गृहजिल्ला आउन लागेका छन् । काँकडभित्ताको नाका हुँदै आएका १० जनालाई वेष्ट प्वायन्टको क्वारेनटाइनमा राखिसकिएको छ । धनगडी र कैलालीको नाकाटबाट २९ जना र झापाबाट ८ जना म्याग्देलीहरु गृहजिल्ला प्रस्थान गरिसकेका छन् । ४ जना म्याग्देलीहरु भने सिमा नाकाबाट नेपालतर्फ नै प्रवेश गर्न नपाएर अल्पत्र परेकाले उनीहरुलाई समेत उद्धारको लागि पहल भैरहेको प्रजिअ ढकालले बताउनुभयो । ‘‘ ३० जनासम्म वेष्ट प्वाइन्टमा राख्छौँ, बाँकीलाई म्याग्दी म्याग्दी क्यापसको क्वारेनटाइनमा ल्याउँछाँै, अल्पत्र परेर सम्पर्कमा आउने संख्या थपिदै गएका छन्, त्यसलाई मध्यनजर गर्दै क्वारेनलाईनको क्षमता विस्तार गरेका छौँ’’–प्रजिअ ढकालले भन्नुभयो । भारतबाट आएकाहरुलाई पिसीआर र आडिटी विधिबाट कोरोना परिक्षण गरिने जनाईएको छ ।