लकडाउन कडा पार्न प्रजिअको नेतृत्वमा सुरक्षा अधिकारीहरुनै सडकमा

  • ६ जेष्ठ २०७७, मंगलवार
  • 1103 पटक पढिएको

म्याग्दी, ६ जेठ । कोरोना (भाइरस) रोकथामका लागि गरिएको बन्दाबन्दीलाई कडा पार्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहितका सुरक्षा अधिकारीहरुनै सडकमा उत्रिएका छन् । सदरमुकाम बेनी बजारमा जनस्तरबाट लकडाउन उल्लंघन बढ्न थालेपछि मंगलबार प्रजिअ ढकालको नेतृत्वमा श्रीबक्स गुल्मका प्रमुख दिपेश बस्नेत, शसस्त्र प्रहरीका डिएसपी प्रकाशकुमार माझी, प्रहरी निरिक्षक डाक्टर चौधरी सहितका सुरक्षा अधिकारीले बजारमा निस्कनुभएको हो ।

टोलीले बजारमा अनुमति बिना सञ्चालन गरिएका १० वटा गाडी, मोटरसाइकल र स्कुटरको चाबी जफत गरेको थियो । उनिहरुलाई आगामी दिनमा गल्ती नदोहोराउने प्रतिवद्धता गर्न लगाएर प्रहरी कार्यालय मार्फत चाबी फिर्ता गरिएको थियो । कोरोनाको संक्रमण बढीरहेको बेला म्याग्दीमा थप सतर्कता अपनाउनका लागि स्थानीयबासीहरुलाई सचेत बनाउन अनुगमनमा आफै सडकमा निस्किएको प्रजिअ ढकालले बताउनुभयो । लकडाउनको परिपालनाको स्तर कमजोर देखिएको उहाँको भनाई छ ।

उहाँले खाद्यान्न, तरकारी र डेरी पसल सञ्चालक तथा बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरुलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिनुभएको छ । अनिवार्य रुपमा साबुनपानी र सेनिटाइजरको ब्यवस्था गर्न र दुरि कायम गराउन निर्देशन दिनुभयो । लकडाउनको पालना १० देखि २० प्रतिशतले मात्र गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । यसैगरी पर्वतबाट म्याग्दी आउनेहरुले अनिवार्य रुपमा परिचय खुल्ने कागजात देखाउनुपर्ने भएको छ ।

बजारका व्यवसायीहरुले भने सुरक्षाकर्मीहरुले खाद्यान्न पसलका गाडी, कृषि फार्ममा दाना ढुवानी गर्न प्रयोग गरिएका सवारी साधनको पनि चाबी खोसीएको भन्दै गुनासो गरेका छन् । बेनीमा स्वमसेवकको नाममा जारी भएका सवारी पासलाई आफन्त ओसार्ने काममा दुरुपयोग भएको बजारबासीहरुले गुनासो गरेका छन् ।