ब्यवसायीलाई सचेत बनाउन नियमित बजार अनुगमन प्रभावकारी

  • २ जेष्ठ २०७७, शुक्रबार
  • 1234 पटक पढिएको

 

म्याग्दी, २ जेठ । ब्यवसायीलाई सचते बनाउन म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको पसलमा अनुगमन गरिएको छ। स्थानीय प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनलाई आक्रामक बनाएपछि ब्यवसायीले सुधार गर्न थालेका छन् ।

पसलको बोर्ड, मूल्य सूची राख्ने र अद्यावधिक गर्ने तथा दर्ता प्रक्रिया सुरु गर्नुका साथै म्याद नाघेका सामान हटाएका हुन् । गत हप्ता प्रदेश स्तरीय टोलीले गरेको अनुगमनका क्रममा बेनीको बजार भद्रगोल भएको तथ्य सार्वजनिक भएपछि सोमबारदेखि नियमित रुपमा खुलेका सबै पसल अनुगमन गरिएको थियो । घरेलु तथा साना उद्योग, प्रशासन, प्रहरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघका प्रतिनिधिले बेनीको सबै भागमा खुलेका ९८ वटा पसलको अनुगमन गरेका थिए ।

घरेलु तथा साना उद्योग, प्रशासन, प्रहरी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघका प्रतिनिधिले बजार अनुगमन गरेका थिए । खाद्य सामग्रीहरुको बिक्री वितरण गर्ने पसलहरुको सघन अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहनचन्द्र सुवेदीले बताए । अखाद्य र म्याद गुज्रीएका खाद्यबस्तुको बिक्री वितरण नहोस भनेर बजार अनुगमन गरिएको उनले बताए ।

अनुगमनका क्रममा जफत गरिएको दुई क्विटल म्याद नाघेका सामग्रीहरु नष्ट गरिएको छ । पेय पदार्थ, बच्चाहरुले खाने लेयर्स, कुरकुरे, आटा, चिउरा र मिठाइजन्य बस्तु म्याद नाघेको पाइएको सुवेदीले बताए । उद्देश्य विपरित सञ्चालन भएका दुई वटा पसललाई बन्द गराइएको थियो । यसअघिका तुलनामा यसपालि सघन रुपमा गरिएको अनुगमन प्रभावकारी देखिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताए । बजार अनुगमनलाई ग्रामिण बजार क्षेत्रमा केन्द्रित गरिने भएको छ ।

बजार अनुगमन निरन्तर हुन थालेपछि केही ब्यवसायीहरुले भने आतंकित बनाएको र अनुगमन गर्न यो समय उपयुक्त नभएको टिप्पणी गरेका छन् । खुद्रा ब्यापारिहरुले डिलरले म्याद सकिने बेलाको सामान आफूहरुलाई विभिन्न स्किमको बाहनामा बिक्री गर्न लगाउने गरेको गुनासो गरेका छन् । विभिन्न कम्पनीको डिलर समेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले लकडाउनका कारण उद्योगको गाडी नआएकाले म्याद सकिएका सामान बिक्रेताकहाँबाट फिर्ता गर्न नसकिएको बताए ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समयमा कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी हुन सक्ने भएकाले बजार अनुगमनलाई सघन रुपमा निरन्तरता दिने स्थानीय प्रशासनले जनाएको छ ।