बेनीमा १५ शैयाको आइसोलेशन कक्ष स्थापना

  • १ जेष्ठ २०७७, बिहीबार
  • 1667 पटक पढिएको

 

म्याग्दी, १ जेठ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना (भाइरस)को लक्षण देखिएका बिरामीको उपचारका लागि बेनीमा छुट्टै आइसोलेशन कक्ष स्थापना गरिएको छ । जिल्लामा हालसम्म कोरोनाका बिरामी नभेटिएपनि सम्भावित जोखिम आकलन गरेर पुर्वतयारीका लागि १५ शैयाको आइसोलेशन स्थापना गरिएको हो । कोभिड–१९ जिल्ला कमाण्ड पोष्टले बेनी अस्पताल, सुरक्षा निकाय र म्याग्दीका स्थानीय तहसंग समन्वय गरेर आइसोलेशन बनाएको हो ।

बेनीको खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रको भवनमा आइसोलेशन सञ्चालनका लागि बेड, विस्तारा राख्ने र विभिन्न उपकरण व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । करिब रु. पैतिस लाख लागत अनुमान गरिएको मापदण्ड अनुसारको आइसोलेशन वार्डमा दुरि कायम गरेर शैया राखिएको छ । चार वटा कोठामा १५ वटा शैया राखिएको छ । “थप ५ वटा शैया, नर्स र डाक्टरका लागि पनि छुट्टै कक्ष बनाउन लागेका छौ,” प्रजिअ ढकालले भने “सम्भावित जोखिमको आकलन गरेर आइसोलेशन बनाएर पुर्वतयारी गरेका हौ ।”

बेनी अस्पतालको हालका भवन, निर्माणाधिन भवन, रक्तसञ्चार केन्द्र, शैक्षिक तालिम केन्द्र र न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा आइसोलेशन स्थापना गर्नका लागि अध्ययन गरिएको थियो । सरोकारवाला र बेनी अस्पतालका चिकित्सकको सल्लाह अनुसार दिर्घकालिन प्रयोजनका लागि तालिम केन्द्रको भवन आइसोलेशनका लागि छनौट भएको हो ।

आइसोलेशन स्थापनाका लागि धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउपालिकालाई दुई लाख पचास हजार रुपैयाँका दरले सहयोग गर्न कमाण्ड पोष्टले प्रस्ताव गरेको छ । बेनी नगरपालिकाले १० वटा शैयाको आइसोलेशनको खर्च ब्यहोर्ने प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले बताए । “बेनीमा आइसोलेशन बनाउन कमाण्ड पोष्टले नगरपालिकालाई पाँच लाख र गाउपालिकाहरुलाई दुई लाख पचास हजार बजेट प्रस्ताव गरेको थियो,” उनले भने, “कार्यपालिकाको बैठकले दश वटा शैया बनाउने निर्णय गरेका छौ ।”

आइसोलेशनमा कोरोनाको लक्षण देखिएका बिरामीलाई स्वाव परिक्षणको नतिजा नआउँदा र रिफर गर्ने समय सम्मका लागि राखिनेछ् । सरकारले छिमेकी जिल्ला बागलुङको धौलागिरि अस्पताललाई कोरोनाका बिरामीको उपचारका लागि तोकेको छ ।

बेनी अस्पतालमा अन्य रोगका बिरामीको उपचार प्रभावित हुन नदिनका लागि छुट्टै ठाउँमा आइसोलेशन बनाइएको अस्पतालका प्रमुख डाक्टर अमृत अधिकारीले बताए ।उनका अनुसार आइसोलेशनलाई प्रभावकारी बनाउनका लागि सम्भावित जोखिमको आकलन गरेर थप पुर्वाधार र उपकरणको व्यवस्थापन गर्न पहल गरिएको छ ।