म्याग्दीमा थप २ जनामा डेङ्गु भेटियो

  • २५ बैशाख २०७७, बिहीबार
  • 1811 पटक पढिएको

 

बेनी, २५ वैशाख । कोरोनाको त्रासले जनजिवन प्रभावित भइरहेका बेला हिमाली जिल्ला म्याग्दीमा बुधबार एकै दिन २ जना डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो ७ दिन यता जिल्लामा पाँच जना डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मंगलाघाट र मंगला गाउपालिका–१ भरजुलाका एक÷एक जनामा डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । दुवै जना पुरुष बिरामीको बेनी अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

मंगलाघाटका २८ वर्षीय ३ दिन अघि तनहुँबाट आएका हुन् । भरजुलाका बिरामी गाउँमै खेतबारीको काम र जंगलमा निउरो टिप्न गएका थिए । यसअघि वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर घई बेनी–५ भिरमुनी बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको थियो ।  बैशाख ९ गते मंगला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । यसअघि भेटिएका डेङ्गुका एक जना बिरामीको स्वास्थ्यमा अन्य समस्या देखिएकाले पोखरा रिफर गरिएको छ भने अरु निको भएर घर फर्कीएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने जोखिम देखिएकाले सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताउनुभयो । गत वर्ष १३ जना डेङ्गु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परिक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । बेनी बजारको गणेशटोल, मंगलाघाट, बसपार्क, पारीबेनी र भिरमुनीलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट गत वर्ष नेपालमा डेङ्गु संक्रमितको ज्यान समेत गएको थियो ।

५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् । टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान चलाइएको छ ।