खाद्यान्नमा मूल्य बृद्धि

  • २४ बैशाख २०७७, बुधबार
  • धिरन खत्री
  • 1999 पटक पढिएको

म्याग्दी, २४ बैशाख । कोरना भाईरस रोकथाम र नियन्त्रणका लागि डेढमहिना देखि जारी लगडाउनको अवधीमा म्याग्दीमा दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि भएको छ । आयात सहज र मौज्दात पर्याप्त भएपनि ब्यवसायीहरुले मूल्य बढाउदाँ उपभोक्ता मर्कामा परेका छन् । चामल, तेल, ग्यास, चिनि, दाल, नुन लगायतका अति आवश्यक खाद्यान्नको मूल्यमा ब्यवसायीहरुले आफुखुशी बढाएका छन् । लकडाउन सुरु हुनु अघिको तुलनामा दश प्रतिशत सम्म मूल्य बृद्धी गरेको पाइएको छ ।


नुनलाई प्रतिकिलो २० बाट २५, चिनीमा प्रतिकिलो ८० बाट ८५ रुपैया, रातोदालमा प्रतिकिलो १०० बाट १२० रुपैयाँ मूल्य पुगेको छ । २५ किलो तौल भएको प्रतिबोरा चामलमा १०० रुपैया मूल्य बढाएका उपभोक्ताले गुनासो गरेका छन् । उद्योगी र डिलरहरुबाटनै मूल्य बढेर आएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए । उनका अनुसार ढुवानीमा अवरोध नभएकाले दैनिक उपभोग्य बस्तुको आयात र मौज्दात भने पर्याप्त छ ।

‘सामान पठाउने डिलरले मूल्य बढाएका छन तर सो अनुसारको बिल दिन नमान्दा हामीलाई अप्ठ्यारो परेको छ,’ उनले भने ‘चिनी र चामलको मूल्य बढ्ने सिजननै हो ।’ म्याग्दीमा ग्याँसको बिक्री मूल्य प्रति सिलिण्डर १ हजार ३७५ रुपैया हुनुपर्नेमा एक हजार ४०० रुपैयाँ भन्दा बढीमा बेचेको पाइएको छ ।
बुधबार बेनीमा बजार अनुगमन गरेको गण्डकी प्रदेशको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलयको टोलीले सामानको मूल्य बढेको, एकरुपता नभएको र म्याद नाघेका बस्तुहरु समेत बिक्रीका लागि राखेको पाइएको जनाएको छ ।


निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले फुटकर व्यवसायीहरुले आफूखुसी मूल्य वृद्धि गरेको पाइएको बताए । ‘बेनीमा प्रतिसिलिण्डर ग्याँसको मूल्य १ हजार ३७५ हो तर एक हजार ४०० रुपैयाँ भन्दा बढीमा बेचेको पाइयो,’ उनले भने ‘अस्वभाविक मूल्य वृद्धि नगर्न व्यवसायीलाई सचेत बनाएका छौ । ग्राहकबाट उजुरी र गुनासो आयो भने कारबाही गर्छौ ।’


दर्ता भएको र मूल्य सुचि राखीएको पसलमा सामग्री किन्न निर्देशक शर्माले उपभोक्तालाई आग्रह गरेका छन् । टोलीले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालबाट जिल्लामा खाद्यान्नको मौज्दातको अवस्था र राहत वितरणको विषयमा जानकारी लिएको थिए ।


लकडाउन लम्बिदै जाँदा मध्यम बर्गीय पनि प्रभावित भएको बताउँदै प्रजिअ ढकालले राहतमा भन्दा काम र रोजगारी दिने नीति लिएको बताए । प्रदेशमा खाद्य बस्तुहरुको आपुर्ति सहज भएकोले अनावश्यक रुपमा दैनिक उपभोग्य बस्तु खरिद गरेर भण्डारण नगर्न निर्देशनालयले आग्रह गरेको छ ।
प्रदेश स्तरको उपभोक्ता मञ्चका अध्यक्ष कपिल कोइरालाले खुद्रा ब्यापारीले मूल्य बृद्धि गरेर बेच्ने गरेको, अब्यवस्थित रुपमा सामान राखिएको, ब्यवसायीले पसल दर्ता बोर्ड नराखेको, मूल्यसुचि दैनिक रुपमा अद्यावधिक नगरेको भेटिएको बताए ।

उनले म्याद नाघेका खाद्यबस्तुहरु तुरुन्त हटाउन, सामग्री किनवेच गर्दा विल प्रयोग गर्न ब्यवसायीलाई निर्देशन गरेको बताए । टोलीले बागलुङ पर्वत हुदै म्याग्दीको सदरमुकाम बेनी बजारका पसलको अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय म्याग्दीको सहकार्यमा बजारका ५ वटा खाद्य पसल अनुगमन गरिएको थियो ।

अनुगमन प्रभावकारी नहुनु, भएपनि औपचारिकतामा सिमित हुनु, कमजोरी गर्नेलाई कारबाही नहुनु, ब्यवसायी र उपभोक्ता सचेत नहुदाँ म्याद गुज्रीएका गुणस्तर हिन खाद्यबस्तुको बिक्री वितरणका साथै अस्वभाविक मूल्यवृद्धिको मारमा उपभोक्ता परेका छन् । स्थानीय तहलाई अधिकार भएपनि बजार अनुगमनमा चासो नदेखाएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l