वडा अध्यक्षद्धारा खाद्यान्न वितरण

  • २३ बैशाख २०७७, मंगलवार
  • 1215 पटक पढिएको

 

म्याग्दी, २३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचनले ब्यक्तिगत खर्चमा वडाबासीलाई खाद्यान्न वितरण गर्नुभएको छ ।वडा भित्रका अति बिपन्न, दलित तथा एकल महिलाका परिवारलाई खाद्यान्न बितरण गर्नुभएको हो । ५३० परिवारलाई व्यक्तिगत रुपमा रु. चार लाख ५० हजार खर्च गरेर दैनिक उपभोग्य खाद्य सामग्री राहत स्वरुप बितरण गर्नुभएको हो ।

खबाङका ६६, ओखरबोटका १२८, छापका ६१, च्युरिबोटका ८५, महभिरका १२० परिवारलाई खाद्यान्न वितरण गरिसकेको वडा अध्यक्ष शेरचनले बताउनुभयो । फुलबारीका ७० घरलाई सोमबार वितरण गर्न लागेको उहाँले बताउनुभयो ।सरदरमा प्रति परिवार १० केजी चामल, दुई केजि नुन र एक पोका तेल उपलब्ध गराउनुभएको छ । अति विपन्नलाई २० केजी सम्म चामल दिनुभएको छ । २५ किलोग्राम तौल भएका २५० बोरा चामल वितरण गरिएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण न्युन मात्रामा खेतियोग्य जमिन भएको, वैदेशिक रोजगार र ज्याला मजदुरीमा निर्भर वडाबासीलाई राहतका लागि खाद्यान्न उपलब्ध गराएको शेरचनले बताउनुभयो ।८० वर्षीय शेरचन खाद्यान्न वितरण गर्न वडाका सबै बस्तिमा पुग्नुभएको थियो । जनप्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधि र अगुवाहरुको उपस्थितिममा खाद्यान्न वितरण गरिएको वडा सचिव धर्मकान्त पौडेलले बताउनुभयो ।

“यसअघि गाउपालिका मार्फत सरकारले बनाएको मापदण्ड अनुसार राहत वितरण गरिएको थियो,” पौडेलले भन्नुभयो “पालिकाबाट वितरण भएको खाद्यान्न सकिएपछि जनतालाई सहयोग गरौ भन्ने भावनाले वडा अध्यक्षले व्यक्तिगत खर्चमा खाद्यान्न वितरण गर्नुभयो ।”

उहाँले वडाबासीलाई बिरामी हुदा आफ्नै निजी गाडीमा राखेर अस्पताल पु¥याउने र खाद्यान्न समेत निशूल्क ढुवानी गरिदिनुभएको छ । शेरचन म्याग्दी जिल्लाकै सबैभन्दा जेष्ठ जनप्रतिनिधि हुनुहुन्छ । उहाँ २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) केन्द्रबाट उमेद्वार बन्नुभएको थियो ।