बेनी नगरपालिकामा ३ जना डेंगु संक्रमित भेटिए

  • २२ बैशाख २०७७, सोमबार
  • 1405 पटक पढिएको

 

धिरन खत्री ,
म्याग्दी, २२ बैशाख। म्याग्दीमा डेंगु संक्रमणको उच्च जोखिम देखिएको छ। बेनी नगरपालिकामा तीन जना डेंगु संक्रमित भेटिएका छन् । बेनी अस्पतालमा बैशाख १८ गते नगरपालिका वडानम्वर ९ का ३० बषिय पुरुष, १९ गते बेनी नगरपालिका–६ छापाकी ५८ बर्षिय महिला र २१ गते आईतबार बेनी नगरपालिका– ५ पुलाचौरकी ३६ बर्षिय महिलामा डेंगु संक्रमण भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।


बेनी अस्पतालमा डेंगु संक्रमित एक जना महिला आईतबार डिस्चार्ज भएकी छन् भने एक जना पुरुष र १ जना महिलाको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यसभन्दा अगाडी २ जना डेंगु संक्रमित भेटिएको थियो । बैशाख महिनामा ४ जना डेंगु संक्रमित भेटिएका छन् । गत माघ २ गते अन्नपुर्ण गाउँपालिका–६ घारकी ६५ बर्षिय महिला र बैशाख ९ गते मंगला गाउँपालिका अर्मनका १७ बर्षिय पुरुषमा डेंगु संक्रमण देखिएको थियो । उनीहरु उपचारपछि निको भएर घर फर्किएका छन् ।

गत आर्थिक बर्षमा २०७५/७६ मा म्याग्दीमा १३ जना संक्रमित भेटिएको बेनी अस्पतालका सूचना अधिकारीले जानकारी दिए।  पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । एक्कासी ज्वरो आउने, जोर्नीहरु दुख्ने, लगायतका लक्षण देखापर्छन । सदरमुकाम बेनी बजारसहित बाख्लो बस्ती रहेको ठाउँमा उच्च जोखिम रहेकोले लामखुट्टे टोकाईबाट बच्ने उपाय अपनाउन बेनी अस्पतालले आग्रह गरेको छ ।