कुखुरा पालक कृषक मारमा : ‘बजार अभाबले खरिद मुल्य घट्यो, लगानी डुब्यो’ (फोटो फिचर)
- २१ बैशाख २०७७, आईतवार
- कमल खत्री
- 4705 पटक पढिएको
कमल खत्री
बेनी २१ वैशाख । बेनी नगरपालिका– २ बगरफाँटका डेकबहादुर कार्कीको फर्ममा करिब २ हजार कुखुरा बजारीकरणको लागि तयारी अबस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फर्ममा रोखका वोइलर कुखुराका चल्ला हुर्कदै जाँदा खुसी हुनुपर्नेमा निरास हुनुहुन्छ । लकडाउनसंगै बजारमा कुखुराको माग र मुल्य दुबै घटेपछि कार्की निरास बन्नुभएको हो ।
२ हजार ३५० वटा कुखुराका चल्ला र दानापानी सहित अहिलेसम्म साढे ७ लाखको हाराहारीमा लगानी भैसकेको भएपनि बजारमा माग र मुल्य नै नभएकाले समस्यामा परेको कार्कीले बताउनुभयो । ‘‘ हिसाब गर्नेहो भने प्रतिकिलो कुखुरामा २ सय ४० रुपैयाँ बढी हाम्रो नै लगानी हुँदो रहेछ, तर अहिले प्रतिकिलो रु २ सयमा विक्रि गर्न पनि कठिन छ, यस पटक लगानी उठाउन पनि कठिन हुने भएको छ’’– उहाँले भन्नुभयो ।
लागत अनुसारको मूल्य नपाउँदा यस पटक कम्तीमा २ लाख घाटा हुने निश्चित भएको उहाँले दुखेसो पोख्नुभयो । विगत १५ बर्षदेखि ब्यबसायिक रुपमा कुखुरापालन गर्दै आउनुभएका कृषक कार्कीलाई फर्ममा यस पटक ५ सय बढी कुखुरा मरेको र लकडाउनको कारण मूल्य नपाउने समस्याले पिरोलेको छ । ३ हजार बढी कुखुरा पालन गर्न सक्ने क्षमताका तीन वटा खोर लगायतका पूर्वाधार निर्माणमा कार्कीले अहिलेसम्म ५० लाख खर्च गरिसकेको उहाँको भनाई छ ।
लकडाउन पछि दानामा समेत प्रतिबोरा ५० रुपैयाँको दरले मूल्यबृद्धि भएपछि कृषको लागत बढेको छ । बोइलर कुखुरा पालक कृषक संगै अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालकहरु समेत समस्यामा परेका छन् । उत्पादन भएको अण्डाले बजार र उचित मूल्य नपाउने समस्या बढ्दै गएको कृषक आनन्द रिजालले बताउनुभयो । बेनपा–२ खवरामा ४ हजार लेयर्स कुखुरा पालेका रिजालले दैनिक १७ कार्टुन अण्डा उत्पादन हुने भएपनि बजारमा खपत घटेको कारण समस्या सिर्जना भएको बताउनुभयो ।
उहाँका अनुसार, लकडाउन अघि एक कार्टुन अण्डालाई २ हजार २ सय सम्ममा विक्रि हुने भएपनि अहिले १ हजार ९ सयमा विक्रि गर्न थालिएको छ । यि केहि प्रतिनिधिमुलक उदाहरण हुन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि गत चैत ११ गतेदेखि जारी लकडाउनको कारण कुखुरा पालन गर्ने कृषकहरु मारमा परेका छन् । लकडाउनसंगै बजार सुनशान बनेको, होटल तथा रेष्टुरेण्टहरु बन्द भएको कारण बजारमा मासु र अण्डाको माग ह्वात्तै घटेको छ ।
लकडाउनको पूर्वसन्ध्यामा फर्ममा कुखुरा राखेकाहरुको यतिबेला विक्रि गर्ने समय भैसकेको भएपनि बजार अभाबले समस्या सिर्जना भएको म्याग्दी कुखुरा ब्यबसायि संघले जनाएको छ । संघका अध्यक्ष शिब खड्काका अनुसार, म्याग्दीमा दैनिक १ हजार क्विन्टल मासु खपत हुने भएपनि अहिले १ सय क्विन्टलको हाराहारीमा मात्रै खपत हुने गरेको छ ।
म्याग्दीमा व्यवसायिक रुपमा कुखुरा पालन गर्ने ५० बढी फर्म रहेका छन् । लकडाउनको कारण बाहिरबाट कुखुराका चल्ला नभित्रिएको भएपनि फर्ममा विक्रि गर्नको लागि तयारी भएका कुखुराहरुले बजार पाउन नसकेको अध्यक्ष खड्काको भनाई छ । यता ग्रामीण भेगमा कृखुरा पालन गरेका कृषकहरु लकडाउनको कारण सवारी आवतजावतमा परेको प्रभाबले दाना र उत्पादन भएका कुखुरा र अण्डा बजारीकरणको लागि ढुवानीको थप समस्यामा परेका छन ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l