बेनी अस्पतालको आइसोलेशनको मापदण्ड पुरा गर्न सुझाब

२० बेड क्षमताको आइसोलेशन बनाउने योजना अन्यौल

  • २० बैशाख २०७७, शनिबार
  • 1285 पटक पढिएको

बेनी २० वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि म्याग्दीको बेनी अस्पतालमा निर्माण गरिएको भनिएको ६ बेड क्षमताको आइसोलेन वार्डमा आधारभुत पूर्वाधार नपुगेको पाईएको छ । कोरोना भाइरसको लक्षण देखिएका र संक्रमण पुष्टी भएका विरामीहरुलाई उपचार गर्नको लागि बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन वार्ड निर्माण गरिएको थियो ।

दश बेड सम्म विस्तार गर्न सकिने ६ बेड क्षमताको आइसोलेशन वार्डमा आवश्यक पर्ने अन्य पूर्वाधारहरु नभएको पाईएको कोभिड–१९ लक्षित जिल्ला स्तरीय मानव अधिकार अबस्था अनुगमन टोलीले जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालले केन्द्र, प्रदेश र जिल्ला स्तरमा मानव अधिकार अवस्था अनुगमन नेटवर्क बनाएर अनुगमन सुरु गरेका हुन् ।

अनुगमनको क्रममा वेड बाहेक आइसोलेशनको लागि आबश्यक पर्ने अन्य मापदण्डहरु पुरा नभएको पाईएपछि आइसोलेशन वार्डमा आबश्यक मापदण्ड पुार गर्न सुझाब दिईएको टोलीका सदस्य हरिप्रसाद पौडेलले बताउनुभयो । अनुगमनको क्रममा प्रयाप्त बेड नभएकाले आइसोलेनका बेडलाई नै अन्य विरामीको उपचारमा समेत लैजाने गरिएको भेटिएको थियो । अस्पतालमै रहेका बेड र स्रोत साधनलाई प्रयोग गरि आइसोलेशन बनाईएकाले सबै मापदण्ड पुरा गर्न नसकिएको अस्पतालका मेडिकल सुपरेटेन्डेन्ट डाक्टर अमृत अधिकारीले जानकारी दिनुभयो ।

बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार, आइसोलेशन वार्डमा आइसीयु र भेन्टिलेटर बाहेकका मापदण्ड पुरा भएको बताईएको छ । तर आइसोलेनशन वार्डमा भने अस्पतालमा रहेका पुरानै बेड लगायतका सामानहरुलाई नै प्रयोग गरि काम चलाउ प्रवन्ध गरिएको पाईएको अनुगमन समितिले जनाएको छ । अस्पताल विकास समितले आइसोलेन वार्ड निर्माणमा गण्डकी प्रदेश सरकार, जिल्ला विपद ब्यवस्थापन समितिबाट प्राप्त सहयोग संगै समितिको आन्तरिक कोषलाई समेत परिचालन गरेको जनाएको छ ।

अनुगमन समितिले वेष्ट प्वाइन्ट क्वारेनटाइनमा समेत सहज ब्यबस्थापन नभएको भेटिएको जनाएको छ । अनुगमन टोलीलाई क्वारेनटाइनमा बसेकाहरुले आधारभुत स्वास्थ्य र सरसफाईका लागि आबश्यक पर्ने सामाग्रीहरु उपलब्ध नभएको गुनासो गरेका थिए । म्याग्दीमा नेपाल बार यशोशियसनका अध्यक्ष चिरञ्जीवि शर्माको संयोजकत्वमा गैसस महासंघका अध्यक्ष दिपक पौडेल, निवर्तमान अध्यक्ष हरि प्रसाद पौडेल, नेपाल पत्रकार महांघका उपाध्यक्ष ठाकुर प्रसाद आचार्य र सहसचिब कमल खत्री सदस्य रहेको अनुगमन टोलीले अनुगमनलाई अघि बढाएको छ ।

यता बेनीमा २० बेड क्षमताको आइसोलेशन बनाउने जिल्ला कमाण्ड पोष्टको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन् । कमाण्ड पोष्टको वैशाख ६ गतेको बैठकले २० शैया क्षमताको आइसोलेशन वार्ड बनाउने निर्णय गरेको थियो । आइसोलेशन बनाउने ठाउँ छनौट हुन नसकेपछि कमाण्ड पोष्टको निर्णय कार्यान्वनयमा आउन ढिलाइ भएकोे छ । बेनी नगर कार्यपालिकाको वैशाख ७ गतेको बैठकले १० बेडको आइसोलेशन बनाउने निर्णय गरेको थियो ।

कमाण्ड पोष्टले हाल क्वारेन्टाइन सञ्चालन भएको न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा आइसोलेशन बनाउने निर्णय गरेको थियो । तर विद्यालयका सञ्चालकहरुले अभिभावकको दवाव आएपछि विकल्प खोज्न बिहीबार कमाण्ड पोष्टलाई निवेदन दिएपछि कमाण्ड पोष्ट वैकल्पिक ठाउँको खोजीमा जुटेको छ ।