पाण्डे मेडिकलहलद्धारा बेनी नगरपालिकालाई रु १ लाख बढीको औषधी सहयोग

  • २० बैशाख २०७७, शनिबार
  • कमल खत्री
  • 2028 पटक पढिएको

म्याग्दी २० वैशाख । सदरमुकाम बेनीको न्यूरोडमा रहेको पाण्डे मेडिकल हलले बेनी नगरपालिकालाई रु १ लाख बढीको औषधी सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण सर्वसाधारण नागरिकमा अन्य विभिन्न रोगको औषधीको पहुँच पुग्न कठिनाई आइपरेको अबस्थामा मेडिकल हलले रु १ लाख ७ हजार ४ बराबरको औषधी सहयोग गरेको हो ।


लकडाउनको कारण नागरिकमा अत्याबश्यक औषधीहरुको समेत पहुँच नपुग्न अबस्था देखिएपछि आफुहरुले विभिन्न ५ प्रकारका औषधी नगरपालिकालाई सहयोग गरेको मेडिकल हलका सञ्चालक प्रमोद महतोले बताउनुभयो । ‘‘ विश्व नै यतिबेला संकटमा छ, आधारभुत औषधीहरुको अभाब हुन नदिनु हाम्रो पनि दायित्व सम्झेर सहयोग गरेका हौँ, कोरोना रोकथाममा समेत जिल्ला स्थित सरोकारवालासंग सहकार्य गरिरहेका छाँै’’–उहाँले भन्नुभयो ।

मेडिकल हलका सञ्चालक महतो र बिजय अधिकारीले नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीलाई सो औषधी हस्तान्तरण गर्नुभएको छ । मेडिकल हलले उपलब्ध गराएको औषधीलाई नगरपालिकाको स्वास्थ्य शाखा मार्फत आबश्यकताको आधारमा स्वास्थ्य संस्थाहरु मार्फत नगरबासीको उपचारमा परिचालन गरिने नगरपालिकाले जनाएको छ । यस मेडिकल हलले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि यस अघि म्याग्दीमा क्रियाशिल पत्रकार, जिल्ला प्रशासन र बेनी नगरपालिका कार्यालयलाई समेत मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l