काठमाण्डौका म्याग्देलीद्धारा साढे ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग (भिडियो सहित)

  • १९ बैशाख २०७७, शुक्रबार
  • 1437 पटक पढिएको

बेनी, १९ वैशाख । काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीहरुले कोरोना रोकथाम र नियन्त्रण अभियानमा सघाउन साढे ३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीहरुले जिल्ला स्थित स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

काठमाण्डौमा बसोबास गर्ने म्याग्दीका डाक्टर ज्योति शेरचनको पहलमा स्वतस्फुर्त रुपमा आर्थिक जुटाएर जिल्लाका ६ वटै स्थानीय तह, बेनी अस्पताल र जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गर्ने गरि सामाग्री सहयोग गरिएको अभियन्ता राजु पुनले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) ११० थान सहित सर्जिकल माक्स, एन ९५ मास्क र ग्लोब्स लगायतका सामाग्री सहयोग गरिएको हो । बेनीमा आयोजित कार्यक्रममा उम बहादुर पुन, राजु पुन, बोम बहादुर चोचाङ्गी र प्रताप पुनले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

जिल्लामा रहेको बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रशासन कार्यालय र जिल्लाका ४५ वटै वडाका स्वास्थ्य संस्थाका लागि सो सामाग्री उपलब्ध गराईनेछ । ‘‘यतिबेला सिंगो विश्व नै संकटमा परेको छ, संकटका बेला आफ्नो गृह जिल्लामा पनि संकट समाधानमा सहकार्य गरौँ भनेर सहयोग गरेका हौँ, यो पहिलो चरणको सहयोग हो, धेरै जना थप सहयोगको लागि जागरुक हुनुहुन्छ, हामीले तत्कालको लागि सहयोग गरेका हौँ’’– अभियन्ता प्रताप पुनले भन्नुभयो ।

जिल्लाको सबै स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराउने गरि उपलब्ध गराईएको स्वास्थ्य सामाग्रीले कोरोना रोकथाम र नियन्त्रण अभियानमा सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । उहाँले म्याग्दीमा कोरोना रोकथाममा जनस्तरबाट विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा समेत सघाउने अभियानले राज्यलाई रचनात्मक सहयोग पुगेको बताउनुभयो ।