बेनी अस्पतालमा स्यानिटाइजर टनेल

  • १८ बैशाख २०७७, बिहीबार
  • 1115 पटक पढिएको

बेनी, १८ वैशाख । म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको हो ।


प्रोगेशिभ इञ्जिनियर एशोसियसन अफ नेपाल (पिन) जिल्ला समिति म्याग्दीले गण्डकी तथा धौलागिरी क्षेत्रका इञ्जिनियरहरुको प्राबिधिक सहयोगमा उक्त टनेल निर्माण गरेका हुन् । पिनका प्रदेश सदस्य श्याम भण्डारीका अनुसार अस्पताल प्रवेश गर्नुअघि र निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज हुन्छ ।

टनेल निर्माणका लागि रु. पचास हजार खर्च भएको छ । स्यानिटाइज गर्न १० लिटर क्षमताको ट्यांकी राखिएको छ । त्यसको क्षमता विस्तार गर्न पनि सकिन्छ ।एक व्यक्तिलाई पाँच सेकेण्डसम्म स्यानिटाइज गर्दा ५० देखि ६० एमएल औषधि खर्च हुने पिन म्याग्दीका अध्यक्ष कृष्ण रिजालले बताउनुभयो । “मानिस टनेलभित्र पस्ने वित्तिकै सेन्सरले स्यानिटाइजर गर्छ,” उहाँले भन्नुभयो ।


अस्पताल संवेदनशील ठाउँ रहेकाले सेवाग्राहीलाई स्यानिटाइज गराएर मात्रै प्रवेश गराइने बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । टनेल निर्माण गर्न म्याग्दीको अन्नपूर्ण गाउपालिका–१ घर भई हाल अमेरिकामा रहनुभएका गोविन्द बिक र उहाँका परिवारले आर्थिक सहयोग गरेका छन् । बुधबार साँझ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको उपस्थितिमा पिनका पदाधीकारीले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कटुवाल र प्रमुख चिकित्सक अमृत अधिकारीलाई स्यानिटाइजर टनेल हस्तान्तरण गर्नुभएको थियो ।

प्रजिअ ढकालले म्याग्दीमा कोरोना संक्रमण भित्र्न नदिनका लागि स्यानिटाइजर टनेलले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउ र लायन्स क्लव अफ बेनी पिस सिटिको आर्थिक तथा खत्री इलेक्ट्रीकल्स र म्याग्दी उर्जा प्रबिधि केन्द्रको प्राबिधिक सहयोगमा कालीपुलमा पनि स्यानिटाइजर टनेल स्थापना भएको थियो । कालीपुल म्याग्दी जिल्ला भित्रने मुख्य नाका हो ।