बेनीको कालिपुलमा स्यानिटाइजर टनेल सञ्चालनमा (भिडियो सहित)

  • १७ बैशाख २०७७, बुधबार
  • 1499 पटक पढिएको

बेनी, १७ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी सदरमुकाम बेनीमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । म्याग्दी प्रवेशद्धार कालिपुलमा बाहिरबाट म्याग्दीमा प्रवेश गर्नेहरुको शरीरलाई स्यानिटाइज गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउ र लायन्स क्लब अफ बेनी पिस सिटिको आर्थिक सहयोगमा टनेल निर्माण गरिएको हो ।

रु ६० हजार लगानी भएको टनेल निर्माणमा खत्रि ईलेक्टोनिक्स र म्याग्दी उर्जा प्रबिधिक सेवा केन्द्र बेनीको प्रबिधिक सहयोग रहेको क्लबका संस्थापक अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

 

 

बाहिरबाट जिल्ला प्रवेश गर्नेहरुको शरीरलाई स्यानिटाइट गर्नको लागि सञ्चालनमा ल्याइएको अटोमेटिक स्यानिटाइजर टनेलमा आबश्यक पर्ने सेनिटाइजर जिल्ला स्थित सहकारी लगायतका संघ संस्थाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले ब्यबस्थापन गरेको छ ।

कालिपुलमा राखिएको टनेलको बुधवार जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीको उपस्थितिमा संचालनमा ल्याइएको छ । यस टनेल मार्फत म्याग्दी भित्रिनेलाई स्यानीटाइज गरिने छ ।

गण्डकी प्रदेशभन्दा बाहिरबाट जिल्ला प्रवेश गर्नेहरुलाई चेक पोष्टका सुरक्षाकर्मी र स्वयमसेवकको सहयोगमा स्यानिटाइज गराउने गरि स्यानिटाइजर टनेल सञ्चालनमा ल्याईएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

यसले कोरोना भाईरसको संक्रमणलाई रोक्ने विश्वास गरिएको छ । स्थानीय स्रोत, साधन र प्रविधिको प्रयोग गरि दुई जनाले ४ दिन लगाएर टनेल निर्माण गरेको प्राविधिक कृष्ण खत्रीले बताउनुभयो । टनेल भित्रको भुँइमा जडान गरिएको सेन्सरमा टेकेपछि स्यानिटाइजर फोहोराबाट छर्ने गरि स्यानिटाइज गर्ने प्रवन्ध मिलाईएको छ ।

खासगरि बिरगंज लगायतका क्षेत्रबाट जिल्लामा आउने ट्रकमा आउने चालक, सहयोगीहरु मार्फत भाइरसको संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गरि मानिसको कपडामा भएको भाइरस मार्ने स्वचालित सेनिटाइजर टनेललाई प्रयोगमा ल्याईएको जनाइएको छ ।