बेनीमा सेनिटाइजर टनेल प्रयोगमा ल्याइने, जिल्लाभर २२२ जना क्वारेनटाइनमा

  • १५ बैशाख २०७७, सोमबार
  • 1561 पटक पढिएको

म्याग्दी १५ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी सदरमुकाम बेनीमा स्वचालित सेनिटाइजर टनेल राखिने भएको छ । म्याग्दी प्रवेशद्धार कालिपुलमा बाहिरबाट म्याग्दीमा प्रवेश गर्नेहरुको शरीरलाई सेनिटाइज गर्नका लागि जिल्लामा रहेका विभिन्न संघ संस्था र सहकारीहरु र प्राविधिकको सहकार्यमा सेनिटाइजर (डिसइन्फेक्सन गर्ने) टनेललाई प्रयोगमा ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

 

म्याग्दीकै प्राविधिकहरुले अहिले टनेल निर्माण गरिरहेका छन् । खासगरि बिरगंज लगायतका क्षेत्रबाट जिल्लामा आउने ट्रकमा आउने चालक, सहयोगीहरु मार्फत भाइरसको संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गरि मानिसको कपडामा भएको भाइरस मार्ने स्वचालित सेनिटाइजर टनेललाई प्रयोगमा ल्याउन लागिएको हो ।

यसैबिच म्याग्दीमा बेजिल्लाबाट आएकाहरुलाई क्वारेनटाइनमा राख्ने कार्यलाई थप कडाई गरिएको छ । विभिन्न माध्ययमबाट गण्डकी प्रदेशकाे पूर्वी नवलपरासी बाहेकका जिल्लाबाट आउनेलाई होम क्वारेनटाइन र प्रदेश बाहिरबाट आएकाहरुलाई स्थानीय तहहरुसंगको समन्वयमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कमाण्ड पोष्टले अनिवार्य रुपमा क्वारेनटाईनमा राख्न थालिएको छ । सम्भावित जाेखिमलाइ हेरेर  पूर्वी नवलपरासी क्षत्रबाट अाएकाहरूलाइ भने क्वारेनटाइनमै राखिने छ ।

सोमबार सम्म म्याग्दीमा २२२ जना क्वारेनटाइनमा रहेको जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

उहाँका अुनसार, बेनी नगरपालिकामा १८, मंगलामा ४३, मालिकामा ९ जना, धवलागिरीमा १०९ जना , रघुगंगामा १४जना र अन्नपूर्ण गाउँपालिकामा २९ जना क्वारेनटाईनमा रहेका छन् । जिल्लामा रहेका स्थानीय तहहरुले सम्भावित जोखिमयुक्त ठाउँबाट आउनेहरुलाई राख्नको लागि क्वारेनटाइन बनाएका छन् भने बेनी अस्पतालमा आइसोलेसन वार्ड समेत स्थापना गरिसकिएको छ ।