नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन थपिए ११ बिरामी

  • ९ बैशाख २०७७, मंगलवार
  • 1773 पटक पढिएको

म्याग्दी ९ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ४२ पुगेको छ । मंगलवार उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार, सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ भने अहिलेसम्म नेपालमा ४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।