यस्तो छ म्याग्दीमा जनप्रतिधीको पदबहालीको तयारी

  • ४ जेष्ठ २०७४, बिहीबार
  • 3057 पटक पढिएको

म्याग्दी ४ जेठ । म्याग्दीका छ वटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिको पदबहालीको तयारी भएको छ ।     बेनी नगरपालीका, मंगला, मालीका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाको कार्यालयमा जनप्रतिनीधिको कार्यकक्ष तयार पार्ने देखि अन्य व्यवस्थापकीय तयारी तिब्र पारिएको छ । कर्मचारीहरु प्रमुख, उपप्रमुखको कार्यकक्ष बनाउने, सजावट, फर्नीचर ब्यवस्थापनमा जुटेका छन् ।

स्थानीय तहमा पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पदबहाली र स्वागतलाई भब्य एवं ब्यवस्थित बनाउने कर्मचारीको तयारी छ । बेनी नगरपालीकाको प्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सञ्जु बरुवालका लागि अहिले कार्यकारी अधिकृतको कार्यकक्ष रहेको कोठा उपलब्ध गराइने भएको छ ।

कार्यालयका सूचना अधिकारी बिमलरञ्जन कार्कीले वडा कार्यालयको कामकाज सम्बन्धित वडाबाटै सञ्चालन गर्ने र हाल रहेको पूर्वाधारलाईनै प्रयोगमा ल्याउने तयारी भएको जानकारी दिनुभयो । बजेटको व्यवस्था भएपनि हाल प्रयोग गर्दै आएको भवन रहेको जग्गा नगरपालीकाको स्वामीत्वमा नरहेकाले पुर्वाधार विस्तारमा समस्या भएको कार्कीले बताउनुभयो ।

मंगलाको साबिक बाबियाचौर, मालीकाको साविक दरवाङ र धौलागिरीको साविक मुना गाविसको भवनमै जनप्रतिनिधिहरुको पदबाहली हुने भएको छ । अन्नपूर्ण र रघुगंगा गाउँपालीकाको जनप्रतिनिधिहरुले भने भाडाको कोठामा रहेको कार्यालयमा पदबहाली गर्नुहुने भएको छ ।

अन्नपूर्ण गाउँपालीकाको कार्यालय पोखरेबगर र रघुगंगाको कार्यालय पाखापानीमा रहेको छ । तिन दुई गाउँपालीकाको आफ्नै भवन नभएकाले कोठा भाडामा लिएर कार्यालय स्थापना भएको छ । आईतबार भएको स्थानीय तह निर्वाचनबाट २३७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

म्याग्दीका नगरपालीकाको प्रमुखउपप्रमुख र गाउँपालीकाको अध्यक्षउपाध्यक्षसंगै वडा अध्यक्ष हरुलाई शुक्रबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतले सपथ ग्रहण गराउने कार्यक्रम छ । नगर प्रमुख र गाउँपालीका अध्यक्षहरुबाट वडा स्तरमा वडा सदस्यहरुको सपथ ग्रहण हुनेछ ।

यसैबीच करिब डेढ दशकदेखि सदरमुकाममा रहेका वडा कार्यालयहरु अब गाउँतहबाटै सञ्चालन हुने भएका छन् । जनप्रतिनिधि निर्वाचित भएपछि वडा सचिवहरु नियमित गाउँमै बसेर काम गर्ने तयारीमा छन् । म्याग्दीका अधिकांश सावीकका गाविस कार्यालयको सेवा सदरमुकामबाटै प्रवाह हुने गरेको थियो ।

जनप्रतिनिधि आएपछि कार्यबोझ हटेकाले गाउँमै बसेर काम गर्ने मनस्तिमा रहेको वडा सचिवहरुले बताएका छन् । यसैबीच दर्जन बढी वडा कार्यालयहरु भवन बिहीन रहेका छन् । अन्नपूर्ण ५ शिख, ६ घार, ७ हिस्तान, रघुगंगा ६ पाखापानी, ८ कुईनेमंगले, धौलागिरी ५ मल्कवाङ, ६ मराङ, ४ मुदी, ७ ताकम, मालीका ३ डाँडागाउँ, मंगला ४, बेनपा ६ र ८को आफ्नै कार्यालय भवन छैन् ।