लकडाउनबाट समस्यामा परेकालाई अन्नपूर्ण गाउँपालिकामा राहत वितरण सुरु
- ४ बैशाख २०७७, बिहीबार
- 1676 पटक पढिएको
म्याग्दी ४ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण समस्यामा परेकाहरुलाई अन्नपूर्ण गाउँपालिकामा राहत वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित भएको विपन्न र श्रमिक परिवारलाई खाद्यान्न राहत वितरण गर्न सुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका ८ वटा वडा कार्यालय मार्फत ५०० परिवारलाई राहत वितरणका लागि सिफारिस भएको थियो ।
वडा कार्यालयमा संकलन भएको आवेदन सर्वपक्षीय, सर्वदलीय सरोकारवालाहरुको बैठकबाट छनौट गरि राहत वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । गाउपालिकाले चार जना सम्मको परिवारका लागि १२ केजी चामल, १ केजी नुन, १ लिटर तेल र २ केजी दाल उपलब्ध गराउने मापदण्ड बनाएको छ । यस्तै पाँच जना भन्दा बढी सदस्य संख्या भएका परिवारलाई २५ केजी चामल, २ केजी नुन, २ लिटर तेल, ४ केजी दाल उपलब्ध गराइनेछ । बिहीबार बिहान वडा न. ३ दानाका ११३ परिवारलाई खाद्यान्न राहत वितरण गरिएको स्थानीय गंगा पुनले जानकारी दिनुभयो ।
दानाका वडा अध्यक्ष नरसिंह पुर्जा, कार्यपालिका सदस्य थमबहादुर बिक, वडा सदस्य गंगा बिक, कृष्ण पुर्जा, हस्तबहादुर पुर्जा, कार्यालय सहयोगी करुणा घर्तीको टोलीले राहत वितरण गरेका थिए । दानामा लकडाउनको कार्यान्वयनका लागि रमेश पुर्जाको संयोजकत्वमा दाना प्रहरी चौकीका प्रमुख ओमबहादुर बोटे, सुरत केसी, अनिता तिलीजा र गंगा पुन सदस्य रहेको अनुगमन समिति गठन भएको छ । यसैगरी अन्नपूर्ण गाउपालिकाको २ नम्बर वडा भुरुङ तातोपानीमा ५१ परिवारलाई खाद्यान्न राहत उपलब्ध गराइएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । दोवा, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेमा पनि राहत वितरण भैरहेको छ ।