पाखापानीका वडा अध्यक्षको घरबाट गोली बरामद
- ३० चैत्र २०७६, आईतवार
- 4994 पटक पढिएको
म्याग्दी ३० चैत । म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले बुलेट (गोली) बरामद गरेको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट आइतबार एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरनजंग कुँवरले जानकारी दिए ।
शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । शेरपुञ्जाले सामाजिक सञ्जालमा राखेको स्टेटसको आधारमा अनुसंधान गर्दै जाँदा प्रहरीले गोली बरामद गरेको हो । ‘शनिबार शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा आफूसंग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान सुरु गरेका थियौँ, अनुसंधानमा निजकै घरमा पुगेको प्रहरी टोलीले छापा मार्दा बुलेट भेटियो, बुलेटको प्रकृति र स्रोतबारे थप अनुसंधान अघि बढाएका छौँ’’– प्रनाउ कुँवरले भने ।
शेरपुजाकै रोहबरमा घर खानतलासी गर्ने प्रयास गरिएपनि उनी सम्पर्कमा नआएपछि प्रहरीले स्थानीय जनप्रतिनिधि र उनी आवद्ध नेपाली काँग्रेसका स्थानीय प्रतिनिधिको रोहबरमा आइतवार विहान छापा मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार भएका शेरपुजाको खोजी जारी रहेको र अदालतबाट आवश्यक कानुनी प्रक्रिया अघि बढाईएको प्रनाउ कुँवरले जानकारी दिए । अध्यक्ष शेरपुजाले आफ्नोे फेसबुकमा “नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउछु” भनेर लेखेका थिए ।
शेरपुजाले सामाजिक सञ्जालमा अभिव्यक्त गरेपछि प्रहरी टोली अनुसन्धानका लागि कोटगाउ गएको थियो । उनि नेपाली काँग्रेस रघुगंगा गाउपालिका समितिका सचिव हुन् । उनि स्थानीय चुनाव ताका नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनि मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध थिए । जिल्ला प्रशासन कार्यालयका अनुसार उनिसंग हतियार राख्ने अनुमति भए नभएको विषयमा अनुसन्धान जारी छ । गोली कुन प्रकृतिको हो भन्ने विषयमा परिक्षणका लागि प्रयोगशालामा पठाउने प्रनाउ कुँवरले बताए । अबैध हात हतियार वा गोलगठ्ठा राखेको कसुर पुष्टि भएमा हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइनेछ । उनको वडा अध्यक्षको पद गुम्नेछ ।