गण्डकी प्रदेशमा विदेशबाट आएका सवैको कोरोना परिक्षण गछौँः मुख्यमन्त्री गुरुङ (भिडियो सहित)

  • २८ चैत्र २०७६, शुक्रबार
  • 1717 पटक पढिएको

बेनी, २८ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न कोरोना परिक्षणलाई प्राथमिकता दिईएको बताउनुभएको छ । कोरोना रोकथामको अबस्थाबारे अवलोकनको लागि शुक्रवार म्याग्दी सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले चैत महिनामा विदेशबाट आएका सबैमा कोरोनाको परिक्षण गर्ने तयारीका साथ अघि बढेको बताउनुभयो ।

 

 

उहाँले यस अबधिमा गण्डकी प्रदेशमा ३ हजार ७ सय ५० जना प्रवासबाट आएको पहिचान भएको जानकारी दिँदै ती सबै जनाको कोरना परिक्षणको तयारी सूरु भएको बताउनुभयो । ‘‘ सम्भावित जोखिमलाई मध्यनजर गर्दै लकडाउन जारी छ, जोखिमयुक्त ठाउँबाट आएकाहरुलाई स्थानीय सरकारहरुको पहलमा क्वारेनटाइनमा पनि राखिएको छ, तर अब यतिमा मात्रै ढुक्क भएर बस्ने अबस्था छैन, थप सतर्कता अपनाउँदै विदेशबाट आएका सबैको कोरोना परिक्षण गर्नुपर्छ’’– मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

सम्भावित जोखिममा रहेका व्यक्तिहरुको लागि ¥यापिड टेष्टमार्फत कोरोना परिक्षणलाई अघि बढाइएको मुख्यमन्त्री गुरुङको भनाई छ । विश्वभरका मानिसहको सभ्यतामाथि नै प्रश्न उठाएको कोरोनालाई सकेसम्म सबै प्रयत्न र प्रयास गरेर शुन्यमा झार्नतर्फ सरकारको ध्यान गएको बताउँदै उहाँले लकडाउनको पूर्ण पालना गर्ने गराउनुपर्नेमा जोड दिनुभयो । प्रदेशभित्र करिब ३ हजार ४ सय क्षमताको क्वारेनटाइन निर्माण भएपनि करिब ५ सयको हाराहारीमा मात्रै प्रवासबाट आएकाहरु क्वारेनटाइनमा बसेको जानकारी पाएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले लाकडाउनको कारण समस्यामा परेका मजदुर र विपन्न परिवारको लागि नगरपालिकालाई १० लाख र गाउँपालिकाहरुलाई ५ लाखका दरले राहत र बेनी अस्पतालमा आइसोलेसन कक्ष सञ्चालन र ब्यबस्थापनको लागि रु १० लाख बजेट उपलब्ध गराएको बताउँदै कोरोना उपचारमा परिचालन भएका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गरिने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो ।

उहाँले कोरोना नियन्त्रणमा प्रदेश सरकारले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउँदै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका अग्रस्थानमा रहनेहरुले आफ्नो सुरक्षालाई समेत ध्यानमा राख्दै उच्च मनोबलका साथ काममा खटिन सुझाब दिनुभयो । मुख्यमन्त्री गुरुङले कोरोना रोकथामको लागि म्याग्दीमा जिल्ला स्थित सुरक्षा निकाय, स्थानीय तह र सरोकारवालाहरुले अपनाएको सतर्कताको शैलि नमुना रहेको बताउँदै लकडाउनको कार्यान्वयनलाई निरन्तरा दिन आग्रह समेत गर्नुभयो ।

संघ र प्रदेशले बनाएको राहत वितरणको मापदण्डलाई आधार बनाएर राहत वितरण गर्न स्थानीय तहलाई सुझाब दिदैँ उहाँले राहतको दुरुपयोग नगर्न र कसैलाई पनि भोकै बस्न नपर्ने वातावरण बनाउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको प्रयास र समन्वयको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि लगायतले कोरोना संकटले निम्त्याएको समस्या र सम्भावित जोखिमको बारेमा मुख्यमन्त्रीको ध्यानकर्षण गराएका थिए ।