पर्वतको वारीबेनीमा ग्याँसमा कालोबजारी गर्ने एक व्यावसायी पक्राउ

  • २७ चैत्र २०७६, बिहीबार
  • 2024 पटक पढिएको

पर्वत २७ चैत । पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बेचेको आरोपमा एक व्यवसायिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका ३, वारिवेनीमा व्यवसाय गरी बस्ने मिनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो ।


वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीले उपभोक्तालाई बजार मूल्यभन्दा बढी रकम लिएर ग्याँस बिक्री गरेको उपभोक्ताको आरोप छ । नेपाल आयल निगमले प्रति सिलिण्डर ग्याँसको मूल्य १ हजार ३ सय ७५ तथा ढुवानीसहित भरी सिलिण्डरको १ हजार ४ सय र आधा सिलिण्डरको ७ सय रुपौयाँ तोकेको छ । तर व्यवसायी रेग्मीले १ हजार ७ सय रुपैयाँ लिएर ग्याँस बिक्री गरेको पाइएकोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पीडित उपभोक्ताले जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद बिल र लिखित उजुरीसहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई निजकै पसलबाट पक्राउ गरेको हो । रेग्मीलाई जिल्ला प्रशासन कार्यालय पर्वतबाट आवश्यक अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भएको प्रहरीले जनाएको छ । व्यवसायी रेग्मीले भने गाउँसम्म ढुवानी गरेर पुर्याउँदाको खर्च जोडिएकाले त्यति पर्न गएको दावी गरेका छन् । उनले जारी गरेको बिलमा क्रेताको नाम र हस्तेमा लकडाउन उल्लेख छ ।