राहत नपाएको भन्दै पर्वत बेनीका मजदुरहरु सडकमा ओर्लिए (भिडीयाे सहित)

  • २६ चैत्र २०७६, बुधबार
  • 2026 पटक पढिएको

म्याग्दी २६ चैत । पर्वतको जलजला गाउँपालिका– ३ वारीवेनीमा लकडाउनको कारण खाद्यान्न संकट भएपछि मजदुरहरु सडकमा ओर्लिएका छन् । बुधवार पर्वत बेनीमा ज्यालामजदुरी गरि गुजारा चलाउँदै आएका ३० जना बढी मजदुरहरु राहतको माग गर्दै घरबाट बाहिर निस्कीएर सडकमा आएका हुन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले जारी गरेको लकडाउनको कारण विगत दुई सातादेखि काम गर्न नपाएको र जम्मा गरेको खाद्यान्न सकिएर भोकभोकै बस्नुपर्ने अबस्था आउन थालेपछि राहतको माग गरेको रामेछाप घर भई पर्वत वेनीमा ज्यालामजदुरी गरि बस्दै आएका आङदावा शेर्पाले गुनासो गर्नुभयो ।

‘‘ सरकारले राहत पठाएको थाहा पाएका छाँै, तर हामी मजदुरहरुलाई अहिलेसम्म दिईएको छैन, कतिपयको घरमा खाद्यान्न सकिसकेको छ, कोरोनाले भन्दा भोकमरीले मरिने डर भयो’’– उहाँले भन्नुभयो । काम गरेर जिविकोपार्जन गर्दै कोठा भाडामा लिएर बसेका मजदुरहरुले लकडाउनलाई लक्षित गरि जम्मा गरेको खाद्यान्न सकिएको बताएका छन् । उनीहरुले सरकारले राहत पठाएपनि स्थानीय गाउँपालिका र वडा कार्यालयले राहत वितरण नगरेको दुखेसो पोखेका छन् ।

वडा कार्यालय लगायतका तीन स्थानमा राहतको लागि नाम टिपाएपनि अहिलेसम्म कतैबाट पनि राहत नपाएको बेनी नगरपालिका–५ पुलाचौर घर भइ पर्वत बेनीमा बस्दै आएका मजदुर कमल परियारले बताउनुभयो । ‘‘घरमा बालबालिका र सुत्केरी श्रीमती छन्, दुई साता भयो कतै काम गर्न पनि पाएको छैन, सरकारले राहत दिने भन्ने सुनेका छाँै, खै अहिलेसम्म हाम्रो हातमा परेको छैन्’’– उहाँले भन्नुभयो ।
धवलागिरि गाउँपालिका–७ ताकम घर भएर वारीबेनीमा बस्दै आउनुभएका टेकबहादुर घर्तिक्षेत्रीले काम नगर्दा पैसा नभएको र पसलबाट पनि उधारो सामान नदिएपछि आफुहरु समस्यामा परेको बताउनुभयो ।

‘‘ यो एउटा व्यक्तिको समस्या होइन, हामी सबै मजदुरहरुको साझा समस्या हो, यसलाई राज्यबाट उचित सम्बोधन होस भन्ने चाहन्छौँ, काम गरेर खाने बर्गलाई भोकभोकै बस्नुपर्ने बाध्यता आयो’’– उहाँले भन्नुभयो । राहत नपाएपछि समस्यामा परेका मजदुरहरु बुधवार पर्वतबेनीमा भेला समेत भएका थिए । उनीहरुले कोरोनाको संक्रमण फैलन नदिन जारी लकडाउनको नियम पालना गर्दागर्दैपनि पेट भोकै राखेर नियम पालना गर्न नसकिने बताएका थिए ।

यता जलजला गाउँपालिका–३ का वडा अध्यक्ष देविन्द्र भण्डारी (रवि)ले लकडाउनलाई मध्यनजर गर्दै गरिब विपन्न र मजदुरहरुको लगत संकलन भैरहेको र आबश्यकता अनुसार व्यवस्थित रुपमा राहत वितरणको तयारी भैरहेको जानकारी दिनुभयो ।  उहाँले गाउँपालिकाले समेत कोरोनाको समस्यासंग जुध्नको लागि आबश्यक बजेट विनियोजन गरेको जानकारी दिदै राहत र स्वास्थ्य सामाग्रीको ब्यवस्थापनमा जुटेको बताउनुभयो । ‘‘ यहाँका मजदुरहरुलाई युवा क्लब, आमा समुह, व्यवसायिहरुबाट राहत वितरण भैसकेको अबस्था हो, यस बिचमा जिल्ला प्रशासन कार्यालयले समेत तत्काल राहत वितरण नगर्न र व्यवस्थित माध्ययम मार्फत राहत दिन निर्देशन दिएको छ, कसैलाई पनि भोकै बस्नुपर्ने अबस्था आउन नदिन हामी सचेत छौँ’’– उहाँले भन्नुभयो ।