मालिका गाउँपालिकाद्धारा राहत वितरण सुरु

  • २४ चैत्र २०७६, सोमबार
  • 1935 पटक पढिएको

बेनी, २४ चैत । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ ।विपन्न, श्रमिक र अशक्तहरुलाई बस्ती बस्तीमा पुगेर राहत वितरण सुरु गरेको गाउपालिकाले जनाएको छ । वडा कार्यालयमा आवेदन दिएर छनौट भएका ७९५ घरधुरीका तीन हजार ३४७ जनसंख्याका लागि राहत वितरण गर्न लागिएको गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

राहत वितरणका लागि गाउपालिकाले एक हजार २०० बोरा चामल, ६७ बोरा नुन र ६१ बोरा दाल खरिद गरेको छ । आइतबार निस्कोट र डाडागाउमा जनप्रतिनिधि, स्थानीय अगुवाहरुको उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो । ओखरबोट, रुम, देविस्थान, दरवाङ र बिममा पनि राहत वितरणलाई निरन्तरता दिने जनाएको छ । गाउपालिकाका अध्यक्ष रोका, उपाध्यक्ष खरमाया बिटालुको टोली राहत लिएर डाडागाउ पुगेको थियो ।

बिमका वडा अध्यक्ष रेशम जुग्जाली, अधिकृत सोमबहादुर खत्रीको टोलीले रुममा राहत वितरण गरेको थियो । छुटेकालाई दोस्रो चरणमा राहत दिइने गाउपालिकाले जनाएको छ । निस्कोटमा ९५ घरधुरीका चार सय ८६ र डाडागाउमा दुई सय बढी घरधुरीका करिब ६ सय बढी दैनिक उपभोग्य खाद्यान्न राहत सामाग्री वितरण गरिएको हो । मालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २० लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ ।