बेनी खानेपानीको महशुलमा बीस प्रतिशत छुट, विपन्नको राहतमा एक लाख सहयोग

  • २३ चैत्र २०७६, आईतवार
  • 1748 पटक पढिएको

म्यााग्दी, २३ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी लकडाउनलाई मध्यनजर गर्दै बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले छुट र राहतको घोषणा गरेको छ । संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतवार बसेको संस्थाको बैठकले लकडाउनका कारण प्रभावित भएका बेनी नगरपालिका ७ र ८ का विपन्न बर्गका व्यक्तिको राहतका लागि एक लाख रुपैयाँ सहयोगका साथै फागुन महिनाको खानेपानी महशुलमा छुट दिने निर्णय गरेको छ ।

बैठकले विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्नका लागि राहत वितरण गर्न बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयलाई ५० /५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । यसैगरी २०७६ फागुन महिनाको खानेपानी महशुलमा बीस प्रतिशत छुट गर्ने र उक्त महिनाको बिलम्ब शूल्क समेत मिनाह गर्ने निर्णय भएको छ ।

 

यस्तै लकडाउनको कारण उपभोक्ताहरुले घरमा पुगेर मिटर रिडिङ गर्न कठिनाई भएकाले आफ्नो मिटरमा चढेको अंक संस्थाको टेलिफोन र मोवाइलमा सम्पर्क गरेर जानकारी गराउन अनुरोध गरिएको छ भने अंक टिपाउन नसक्ने ग्राहकको लागि अघिल्लो महिनाको रिडिलाई आधार बनाउने र अर्को महिनामा बास्तविकता मिलान गर्ने जनाईएको छ । संस्थाका बेनी बजारमा एक हजार घरधुरी उपभोक्ता रहेका छन् । महशुल भुक्तानीको लागि इसेवा र आइएमई पेको माध्यमबाट महशुल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।