रघुगंगा गाउँपालिकामा राहत वितरण सुरु

  • २२ चैत्र २०७६, शनिबार
  • 1805 पटक पढिएको

म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा राहत वितरण सुरु भएको छ । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि जारी लकडाउनको कारण समस्यामा परेका विपन्न र ज्यालाबजदुरी गरि जिविका चलाउदै आएका परिवारलाई राहत वितरण सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तिगत रु ४ लाख सहयोग रकमबाट गाउँपालिकाले राहत वितरण सुरु गरेको हो ।


शनिवार वडा नम्बर ५ झिँका २६ जना, वडा नम्बर ५ पाखापानीका ३० जना र वडा नम्बर ८ कुइनेखानीतर्फका ५ घरपरिवारलाई प्रतिवरिवार १ बोरा चामल, १ किलो नुन, दाल र १ लिटर खानेतेल राहत स्वरुप वितरण गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीको नेतृत्वमा अध्यक्ष भण्डारीका सल्लाहकार तथा नेपाली काँग्रेसका जिल्ला सदस्य केवी भण्डारी, वडा नम्बर ८ का वडा अध्यक्ष गमान छन्त्याल लगायतको टोलीले झिँ र पाखापानीमा वडाका वडा अध्यक्षहरुको समन्वय र सुरक्षा निकायको रोहोवरमा राहत वितरण गरेको थियो ।


लकडाउनको समयमा समस्यामा परेकाहरुलाई राहत दिन आफुले गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा सहयोग घोषणा गरेको रकमबाट सबै वडामा खाद्यान्न सहयोग गर्न थालेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार र जिल्ला समन्वय समिति मार्फत राहतको लागि प्राप्त भएको रकमबाट समेत एकैसाथ राहत वितरण गर्ने योजना बनाएको भएपनि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन हुँदा आर्थिक कारोबारमा समस्या भएको छ ।