कोरोना रोकथाम कोषमा मंगला गाउँपालिका उपाध्यक्ष केसीको परिवारबाट रु ५० हजार सहयोग

  • २१ चैत्र २०७६, शुक्रबार
  • 1647 पटक पढिएको

म्याग्दी २१ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि म्याग्दीको मंगला गाउँपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन कोषमा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको घरपरिवारले रु ५० हजार सहयोग गर्नुभएको छ । पारिवारीक भेटघाटको क्रममा अष्टे«लियामा रहनुभएकी केसीले गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि स्थापना गरेको विपद् ब्यवस्थापन कोषमा परिवारको तर्फबाट सो सहयोग गर्ने घोषणा गर्नुभएको हो ।


बहिनीको विवाहमा सहभागी हुन अष्टे«लिया पुगेपनि विश्वब्यापी महामारीको कारण सरकारले जारी गरेको लकडाउनको कारण समयमै स्वदेश फर्कन नपाएको बताउँदै उपाध्यक्ष केसीले गाउँपालिकाले सञ्चालन गरेको अभियानमा सहयोग पुगोस भन्ने उदेश्यले घरपरिवारको तर्फबाट सो सहयोग गर्न लागेको बताउनुभयो ।

उहाँले महामारीलाई फैलन नदिनको लागि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी तथा सुरक्षानिकाय र स्थानीय सरोकारवालाहरुबाट खेलेको भूमिकाप्रति प्रसन्नता व्यक्त गर्दै गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा सहयोगको लागि आह्वान समेत गर्नुभएको छ । मंगला गाउँपालिकाले कोरोनालाई लक्षित गरि अभियान सञ्चालन, क्वारेनटाइन ब्यवस्थापन, गरिब र मजदुर परीवारको राहत लगायतको लागि रु ३० लाखको विपद् ब्यवस्थापन कोष स्थापना गरेको छ । यस कोषमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले समेत ब्यक्तिगत रुपमा थप रु १ लाख सहयोग गर्नुभएको छ ।