बेनी अस्पतालबाट पठाईएको एक युवतिको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ

  • २१ चैत्र २०७६, शुक्रबार
  • 2061 पटक पढिएको

बेनी, २१ चैत । कोरोना भाइरसको संक्रमणको लक्षण देखिएपछि बेनी अस्पतालमा आइसोलेसन वार्डमा भर्ना भएकी एक युवतिको स्वाब परिक्षणको रिपोर्ट नेगेटीभ आएको छ । बागलुङ घर भइ पर्वतको जलजला गाउँपालिका बस्ने २७ बर्षिया युवतीको श्वाप्रश्वासमा समस्या, ज्वरो आउने लक्षणहरु कोरोनासंग मिल्दोजुल्दो देखिएपछि आइसोलेसनमा भर्ना गरि स्वाब परिक्षणको पठाईएको थियो ।

चैत १८ गते गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा आएको कोरोना भाइरस परिक्षण मेसिन र टेकु अस्पताल मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला दुबैमा परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।
यसैबिच बेनी अस्पतालबाट थप एक जनाको स्वाब परिक्षणको लागि पठाइएको छ । न्यु वेष्ट प्वाइन्ट आवसीय माविमा सञ्चालित क्वारेनटाइनमा बसेका हालै भारतबाट आएका एक युवालाई ज्वरो आउने समस्या देखिएपछि श्वाब परिक्षणको लागि पठाइएको अस्पतालले जनाएको छ ।