कोरोना रोकथाम र नियन्त्रण गर्न मंगला गाउँपालिकाद्धारा ३० लाखको कोष स्थापना

अध्यक्ष रोकाद्धारा व्यक्तिगत रुपमा १ लाख कोषमा सहयोग

  • २० चैत्र २०७६, बिहीबार
  • 1687 पटक पढिएको

म्याग्दी २० चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि म्याग्दीको मंगला गाउँपालिकाले रु ३० लाखको कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना नियन्त्रण र रोकथाम गर्न सो रकम गाउँपालिका स्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको गाउपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकामा कोरोना भाइरस रोकथाम अभियान तथा गरिब विपन्न तथा श्रमीक मजदुरहरुलाई राहत वितरण लगायतको क्षेत्रमा कोषलाई परिचालन गरिनेछ । गाउँपालिकाभित्र रहेका मजदुर श्रमीक र गरिब विपन्नलाई लक्षित गरि लकडाउनको कारण खानाको लागि समेत समस्यामा परेकाहरुको लगत संकलन गरि एकद्धार प्रणाली मार्फत राहत वितरण गरिने जनाईएको छ । गाउँपलिकाको विपद ब्यवस्थापन कोषमा गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले व्यक्तिगत रुपमा समेत नगद रु १ लाख रुपैयाँ जम्मा गर्नुभएको छ ।

महामारीको समयमा कोहीपनि भोकै बस्न नपर्ने वातावरण बनाउनको लागि ब्यक्तिगत रुपमा समेत रकम परिचालन गरेको अध्यक्ष रोकाको भनाई छ । गाउँपालिकाको कोषमा पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्थाले रु १५ हजार र मंगला गाउँपालिका वडा नं. २ भाइवाङ घर भई हालै प्रवासबाट आएर क्वारेनटाईनमा बसेर घर फर्कनुभएका चुडामणि गौतम मार्फत समेत रु ४ हजार पाँच सय पाँच सहयोग जुटेको छ । कोषबाट गाउँपालिकाभित्रका करिब ४ सय विपन्न तथा मजदुरका घरपरिवारलाई राहत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले लकडाउनलाई कार्यान्वयन गराउनको लागि १६ सदश्यीय स्वयंसेवक कार्यदल गठन गरी परिचालन गरिएको छ । उक्त कार्यदललाइ गाउँपालिका अध्यक्ष रोका, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद गौतम, वडा नं. २ का वडा अध्यक्ष धन वहादुर खाती क्षेत्री र वावियाचौर प्रहरी चौकी प्रमुख असइ सोम वहादुर खत्रीले प्रशिक्षण दिनुभएको थियो ।