बेनीको क्वारेनटाइनबाट ४ जना घर फिर्ता, अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य (तस्बिर र भिडियो सहित)

  • १८ चैत्र २०७६, मंगलवार
  • कमल खत्री
  • 2435 पटक पढिएको

कमल खत्री
म्याग्दी, १८ चैत । म्याग्दी सदरमुकाम बेनीमा रहेको क्वारेनटाइनबाट मंगलवार ४ जना घर फर्किएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामको लागि चैत १ गतेदेखि यता विदेशबाट आएकाहरु क्वारेनटाइनमा बसेकाहरुमध्ये विदेशबाट आएको १५ दिन पुगेका र स्वास्थ्यमा कोरोनाको लक्षण देखा नपरेकाहरुलाई घर फिर्ता पठाईएको हो ।

कोरोनाको संक्रमण देखिने अबधी दुई साता रहेकाले सो भन्दा बढी दिन भैसकेको र स्वास्थ्यमा समस्या नआएकाहरुलाई बेनी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण तथा आबश्यक काउन्सीलिङ गरि घर पठाईएको जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत गठीत कमाण्ट पोष्टका सदस्य रेडक्रसकर्मी सुरत केसीले जानकारी दिनुभयो । बेनी नगरपालिकाको सहयोगमा वेनीको न्यु वेष्ट प्वाइन्ट कलेजमा निर्माण गरिएको क्वारेनटाईनमा चैत यता प्रवासबाट आएका २४ जना बसेका थिए ।

म्याग्दीमा प्राय सबै स्थानीय तहले क्वारेनटाइन निर्माण गरेपनि सबैमा प्रवासबाट आएकाहरु बस्न आएका छैनन् । बेनीसंगै मंगलामा ८ जना र रघुगंगाको केही वडामा रहेका क्वारेनटाईनमा न्युन मात्रामा मात्रै क्वारेनटाईनमा बसेका छन् । बेनीमा रहेको क्वारेनटाईनमा बेनी नगरपालिकाको सहयोगमा निशुल्क खाना, खाजा सहित इन्टरनेटको समेत सुविधा दिईएको छ । उनीहरुलाई बेनी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीद्धारा निगरानी गर्ने बन्दोबस्त मिलाईएको छ ।

मंगलवार क्वारेनटाइनमा रहेकाहरुका अबस्थाबारे बुझ्न पुग्नुभएका गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी , बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले क्वारेनटाइमा बसेकाहरुलाई धन्यबाद दिँदै जोखिमयुक्त ठाउँबाट आएकाहरु क्वारेनटाईनमा बस्दा व्यक्ति, परिवार र समाजलाई नै सुरक्षित बनाउन सहयोग पुगेको बताउनुभयो । उहाँहरुले क्वारेनटाइनमा बसेकाहरुको स्वास्थ्य अबस्थाबारे समेत स्वास्थ्यकर्मीहरु मार्फत जानकारी लिनुभएको थियो ।

 

क्वारेनटाइनमा बसेकाहरुले आफुहरु प्रवासबाट आएको र कोरोनाको संक्रमण भए नभएकोबारे क्वारेनटाईन बसाईले निक्यौल गर्ने र स्वास्थ्यमा समस्या आए उपचार हुने भएकाले आफुहरु संयमता अपनाएर क्वारेनटाइनमा आएको बताएका थिए । सो क्रममा उनीहरुले प्रवासबाट आएका व्यक्तिहरुको कारण गाउँघरमा त्रास फैलिने भएकाले क्वारेनटाइन नबसेकाहरुलाई पनि क्वारेनटाइन बस्न सुझाब दिएका थिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l