मौवाफाँटमा कोरोना विरुद्धको जनचेतना घरघरमा, साबुन र मास्क वितरण

  • १६ चैत्र २०७६, आईतवार
  • 1975 पटक पढिएको

बेनी १६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन स्थानीय संघसंस्था र सरोकारवालाले जनचेतनालाई घरघरमा पु¥याउने अभियान सञ्चालन गरेका छन् । स्थानीय समाजसेवा युवा क्लब, पवित्र आमा समुह, मौवाफाँट बचत तथा ऋण सहकारी ,चुनेपानी कुनौटा सामुदायिक बन समुह लगायत स्थानीय अगुवाहरुको अग्रसरतामा कारोना भाइरस विरुद्धको जनचेतनालाई घरघरमा पु¥याउने र सरसफाई सामाग्रि, मास्क वितरण थालिएको हो ।

 

विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि घरघरमा पुगेर साबुन र ज्येष्ठ नागरिक र विपन्नलाई मास्क लगायतको सामाग्री सहयोग गर्न थालिएको सहकारीका अध्यक्ष मुक्ति शर्माले जानकारी दिनुभयो । घरघरमा पुगेर स्थानीयलाई जोखिमको अबस्थाबारे सचेत गराउने र जोगिने उपायहरुबारे समेत जनचेतना अभिबृद्धी गर्न थालिएको हो ।


मौवाफाँटमा विभिन्न संघ संस्था, समुह र क्लबको अग्रसरतामा रु ४३ हजार सहयोग संकलन गरिएको र गरिब तथा विपन्नको लागि अत्याबश्यक परेको समयमा खाद्यान्न सहयोग गर्ने तयारी ममेत गरिएको आमा समुहका अध्यक्ष कमला केसीले जानकारी दिनुभयो । गाउँमा पछिल्लो समयमा विदेशबाट र जोखिमयुक्त ठाउँबाट आएकाहरुलाई क्वारेनटाइनमा बसेर आफु, परिवार समाजलाई सुरक्षित गराउन आह्वान समेत गरिएको छ ।


त्यसैगरि अत्याबश्यक काम बाहेक गाउँमा एक आपसमा भेला हुने, एक अर्को स्थानमा जाने कार्यलाई रोक्न र बाहिरबाट समेत गाउँमा तत्कालको लागि नआउन आह्वान गर्दै बाहिरबाट आउने आगमनलाई गाउँपालिकाको समन्वयमा रोक्ने तयारी गरिएको क्लबका अध्यक्ष बुद्धी केसीले जानकारी दिनुभयो ।