कोरोना संक्रमण रोक्न म्याग्दीमा भित्रनेको चेकजाँच सुरु

  • १० चैत्र २०७६, सोमबार
  • 2365 पटक पढिएको

म्याग्दी १० चैत । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर म्याग्दीमा भित्रिने सर्वसाधारणहरुको चेकजाँच गर्न सुरु गरिएको छ । सोमबार बसेको सर्वदलिय बैठकले जिल्लामा कोरोना संक्रमण फैलन नदिन जिल्ला स्थित सुरक्षा समितिलाई लकडाउनको निर्णयसंगै जिल्लाको विभिन्न नाकाहरुमा एकिकृत चेकपोष्ट स्थापना गरिएको छ ।


बेनीको कालिपुलमा स्वास्थ्य सहायता कक्ष हेल्थ डेस्क स्थापना गरिएको छ । सुरक्षा निकायका तिनवटै अंग र म्याग्दी जेसिजको सहकार्यमा सचेतना अभ्यास तथा स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो । सोमबार बेनीमा वसेको सर्वपक्षिय वैठकले गरेको निर्णय अनुसार नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले उक्त हेल्प डेस्क स्थापना गरेका हुन । हेल्प डेस्कमा बाहिरबाट आउने व्यक्तिहरुको ज्वरो नाप्न समेत सुरु भएको छ ।


म्याग्दी जेसिज र राष्ट्रिय युवा परिषद म्याग्दीमा आवद्ध भएका स्वयसेवि युवाहरुले नाकामा वसेर कोरोना भाइरसका वारेमा जनचेतनामुलक कार्यक्रम गर्ने छन् । हेल्थ डेस्कमा जिल्ला बाहिरबाट आउने यात्रुहरुको तापक्रम नाप्ने र कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने प्रहरी नायव उपरिक्षक किरण जंग कुँवरले बताउनुभयो ।

चेकजाँच गर्दा कसैमा कोरोना भाइरस संक्रमणको लक्षण देखा परेमा तुरुन्तै रिफर गरिने जनाइएको छ । कालिपुलबाट भित्रिने सवारीसाधनलाई कडाई गरिएको छ । आज रातीबाट म्याग्दीलाई लकडाउन गरिने भएको छ । लकडाउनको अवस्थामा कोही पनि आवतजावत गर्न पाइने छैन । दैनिक उपभोग्य वस्तु र अत्यवश्यक सेवाका पसलहरु विहान १० देखि ४ बजे सम्म खुल्ने छन् भने अरु सवै बन्द गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । जिल्लाभित्र सार्वजनिक सवारी र निजी सवारीलाई भोली देखि पूर्णरुपमा प्रतिबन्ध गरिने भएको छ ।