९ बर्षमा राहुघाट जलविद्युत आयोजनाको कार्यालय भवन निर्माण

  • ९ चैत्र २०७६, आईतवार
  • 2435 पटक पढिएको

 

म्याग्दी, ९ चैत । राहुघाट जलविद्युत आयोजनाको प्रशासनिक र आवास भवन नौ वर्षमा निर्माण सम्पन्न गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइइ«ो लिमिटेडले म्याग्दीको रघुगंगा गाउँपालिका –३ पिप्लेमा ४० मेगावाट क्षमताको आयोजनाको कार्यालय र कर्मचारी आवासका लागि २०६७ मा १० वटा भवन निर्माण सुरु गरेको थियो ।

निर्माण कम्पनीले अधकल्चो बनाएर छोडेको भवन उसंग सम्झौता रद्द गरेर नयाँ ठेक्का प्रक्रियाबाट पुरा गरिएको रघुगंगा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जे.भी.सँग २०६७ कात्तिक ४ गते ११ करोड १० लाख ६७ हजार रुपैयामा ठेक्का सम्झौता भएको थियो । १८ महिनामा भवन बनाइसक्ने सम्झौता गरेका दुई वटा कम्पनीको आन्तरिक दन्द्धले ढिलासुस्ति भएपछि २०७५ कात्तिक ९ गते रद्द गरेको थियो ।

एक करोड २७ लाखमा सम्झौता गरेको जम्बुदिप कन्ट्रक्सनले तीन वटा र ७९ लाख ७२ हजारमा सम्झौता गरेको दावा–त्रिशक्तिले दुई वटा भवन सकेर हस्तान्तरण गरेका हुन् । जम्बुदिपले लक्ष्य भन्दा एक महिना अघिनै काम सकेको थियो । एक करोड ३५ लाख रुपैयाँ लागतमा १÷१ तले दुई वटा स्टोर र कन्टीन भवन निर्माणको ठेक्का मूल्याङ्कनको चरणमा रहेको श्रेष्ठले बताए ।
भवन निर्माणमा ढिलाई हुदाँ कम्पनी रघुगंगा हाइड्रो लिमिटेडको कार्यालय बेनी र काठमाडौबाट सञ्चालन गरिएको थियो । आयोजनाको सुरुङ, विद्युतगृह र बाँध निर्माणको काम तिब्र गतिमा अघि बढेको छ । २०७४ मंसिर ५ गते छ अर्ब रुपैयामा सम्झौता गरेको भारतीय जेपी एसोसियट्सले सिभिल निर्माणको कामलाई तिब्रताका साथ अघि बढाएको जनाएको छ ।

भारतीय एक्जिम बैङ्कको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋणमा निर्माण गर्न लागिएको आयोजनाको २६ महिनाको भौतिक प्रगति २२ प्रतिशत पुगेको छ । ठेक्का अवधि ४५ महिनाको हो । घुमाउनेताल देखि दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाएको छ । पहुँचमार्गमा नाली र पर्खाल निर्माण गरिरहेको छ ।

बाँधतर्फ जाने बाटोमा पर्ने बुक्ल स्थित रघुगंगा नदीमाथि बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पिप्लेको तिल्केनीचौरमा विद्युतगृह बन्नेछ । अधेरीखोलाको अडिट २ को ३०० मिटर सुरुङ खनेर सकेको छ । अडित १ र अडित ३ तर्फ मुख्य सुरुङ खन्न थालेको छ । पिप्लेको अडिट ३ को २५५ मिटर सुरुङ खनेको छ । पिप्लेमै बनाउन लागिएको ५२ मिटर गहिरो सर्च ट्याकको १२ मिटर खाडल खनेको छ ।

अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।