परिक्षा स्थगित भएपछि एसइईमा सहभागी हुने विद्यार्थीलाई स्थानीय तहद्धारा सहयोग
- ६ चैत्र २०७६, बिहीबार
- 1580 पटक पढिएको
म्याग्दी ६ चैत । चैत ६ गतेदेखि सञ्चालन गर्ने तय भएर अन्तिम समयमा स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुलाई यहाँका स्थानीय तहहरुले सहयोग गरेका छन् । तत्काललाई परिक्षा स्थगित भएपछि परिक्षा केन्द्रबाट आ–आफ्नो गाउँमा फर्कने विद्यार्थीहरुलाई राहत स्वरुप स्थानीय तहहरुले सहयोग गरेका हुन् ।
जिल्लाको धवलागिरि गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले परिक्षा दिनको लागि गाउँ छाडेर परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई गाउँ फर्कनको लागि खाना, खाजा र यातयात खर्चको लागि आर्थिक सहयोग गरेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै सरकारले बुधवार साँझ मात्रै परिक्षा स्थगित गरेको थियो । परिक्षा दिनको लागि केन्द्र रहेको स्थानमा आईपुगेका विद्यार्थीहरुलाई सहज रुपमा आफ्नो गाउँ फर्कन सहयोग पुगोस भन्ने उदेश्यले राहत सहयोग गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उनका अुनसार, परिक्षा केन्द्रदेखि विद्यालय रहेको दुरीको हिसाबरले एक हजार र एक हजार ५ सयका दरले प्रतिव्यक्ति विद्यार्थीहरुलाई सहयोग गर्ने निर्णय भएको छ ।
रघुगंगाले रितंगु मावि कुइनेमंगले, अमर मावि पाखापानी, महेन्द्र मावि झिँ र अमर मावि चिमखोलाका विद्यार्थीलाई प्रतिव्यक्ति एक हजार पाँच सय दिने भएको छ । मुक्तिधाम मावि भगवती, रघुगंगा मावि पिप्ले, ज्ञानोदय मावि मौवाफाँट, जनता मावि दग्नाम र महादेव मावि बेगका विद्यार्थीलाई एक हजार रुपैयाँ राहत दिईने गाउँपालिकाले जनाएको छ । धवलागिरि गाउँपालिकाले परिक्षा केन्द्रमा आइपुगेका विद्यार्थीहरु घर फर्कनु परेपछि उनीहरुको खाजार खाना बापतको खर्चमा राहत सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष थमसरा पुनले एसइई परीक्षामा सहभागी हुने गाउँपालिकाभित्रका ९ वटै विद्यालयहरुलाई दश÷दश हजार रुपैयाँ सहयोग गरेको जानकारी दिईन । घरबाटै परीक्षामा सामेल हुने ताकम माविबाहेकका विद्यालयका विद्यार्थीले यो सुविधा पाएका छन् । त्यसैगरि अन्नपूर्ण गाउँपालिकाले प्रतिविद्यार्थी एक हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ । मुक्तीमार्ग मावि घार परीक्षा केन्द्रमा ११८ र बेनीको परीक्षा केन्द्रबाट परिक्षा दिने ५० जनालाई राहत दिने निर्णय गरेको गाउँपाकिला अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । तस्बिर रुपेश सुवेदी