तीन महिने ब्युटीपार्लर तालिम सुरु
- ६ चैत्र २०७६, बिहीबार
- 1501 पटक पढिएको
बेनी, ६ चैत । बेनीमा बुधबारदेखि तीन महिने ब्युटीपार्लर तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक विद्यालयको प्राबिधिक सहयोगमा द्धन्द पिडित अधिकार मञ्च म्याग्दीले तालिमको आयोजना गरेको हो । बीस जना द्धन्दपिडितको सहभागिता रहेको तालिमको संगिता श्रेष्ठ र प्रमिला जोशी श्रेष्ठले सहजिकरण गर्नुहुने जनाइएको छ । प्रशिक्षकलाई तालिमको सामग्री हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो ।
तालिममा अन्नपूर्ण गाउपालिका बाहेक म्याग्दीका ५ वटा स्थानीय तहका द्धन्दपिडितको सहभागिता छ । द्धन्दपिडितलाई सिपमुलक तालिमको माध्यमबाट व्यवसाय तर्फ अग्रसर बनाई आयआर्जनको अवसर सिर्जना गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्नुहुदै बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सिप सिकेर व्यवसायिक बन्न आग्रह गर्नुभयो । अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयका प्रमुख मोतीमाया सुवेदीले गण्डकी प्रदेशमा छ हजार जनालाई सिपमुलक तालिम प्रदान गर्न लागिएको बताउनुभयो ।
मुख्य प्रशिक्षक संगिता श्रेष्ठले सौन्दर्यकला व्यवसायमा दक्ष र योग्य जनशक्तिको आवश्यकता भएको बताउनुभयो । द्धन्दपिडित अधिकार मञ्चका अध्यक्ष भिमबहादुर रिजाल (राजु)को अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।