गुर्जाली विद्यार्थीका सकस : एसइई परिक्षामा सहभागी हुन ८ घण्टा हिउँको यात्रा (फोटो फिचर)

  • ५ चैत्र २०७६, बुधबार
  • 2166 पटक पढिएको

बेनी, ५ चैत । चैत ६ गते (भोली)बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाहरुले ८ घण्टा लामो हिउँको यात्रा गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित जनकल्याण माविका परिक्षार्थीहरु आफ्नो परिक्षा केन्द्रमा जानका लागि हिउँको यात्रा छिचोल्दै आएका हुन् ।


हेम मावि सिवाङको परिक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ जना विद्यार्थीहरु र शिक्षक सहितको टोलीले हिउँले ढाकिएको बाटो छिचोलेर आएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो । तीन दिन अघि परेको बेमौसमी हिमपातले गुर्जादेखि लुलाङमाथिको जंगलसम्म अझै बाख्लो हिउँ रहेको छ ।

बाख्लो हिउँले बाटो पुरिएको र हिमपातसंगै जंगलमा गएको पहिरोको कारण कष्टकर तवरले यात्रा गरि परिक्षाकेन्द्रमा आइपुगेको प्रअ सुवेदीले बताउनुभयो । परिक्षाकेन्द्र रहेको सिवाङ आइपुग्न गुर्जाबाट करिब १० घण्टा बढीको पैदल यात्रा गर्नुपर्छ । गुर्जा जिल्लाको सबैभन्दा बिकट गाउँको रुपमा चिनिन्छ ।

म्याग्दीमा यस बर्ष एसइई परिक्षमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । २०७६ सालको एसइइ परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १ हजार ८७ जना छात्र सहभागी हुने इकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । (तस्बिर रुपेश सुवेदी)