राष्ट्रगानको विश्व यात्रामा निस्किएका ‘रामजी नेपाली’, जस्ले गाउँछन २५ देशका राष्ट्रगीत (भिडियो सहित)

  • ३ चैत्र २०७६, सोमबार
  • 2525 पटक पढिएको

कमल खत्री
म्याग्दी ३ चैत । एउटा व्यक्तिले २५ वटा मुलुकको राष्ट्रगान गाउँछन भन्दा अचम्म लाग्न सक्छ । तर बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीका रामजी नेपाली अहिले विश्वमा रहेका सबै राष्ट्रहरुको राष्ट्रिय गीत गाउने अभियानमा लागेका छन् । ‘विश्व वन्धुत्व, साँस्कृतिक पर्यटन र सदभावना’ भन्ने मुल नाराका साथ विश्व यात्रामा निस्किएका नेपालीले नेपालसंगै जापान, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान, अमेरिका, भारत लगायतका २५ देशको राष्ट्रगान गाउन सक्छन् ।

५ बर्ष अघिदेखि विभिन्न मुलुकहरुको राष्ट्रगान गाउन थालेका गायक नेपालीले सन २०२५ भित्रमा विश्वयात्रा पुरा गर्ने लक्ष्य सहित भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डस पुगिसकेका छन् । भारतका सात वटा प्रान्तमा पुगीसकेका नेपालीको यो वर्ष श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेशलगायतका देश घुम्ने योजना छ । राष्ट्रगानको फरक खालको विश्व यात्रामा निस्कीएका नेपालीले म्याग्दी सदरमुकाम बेनीमा आयोजित पत्रकारहरुसंगको साक्षतकार कार्यक्रममा नेपालमा संधै पर्यटन छ भन्ने सन्देश फैलाउँदै नेपाल सगरमाथा र बुद्ध जन्मिएको देशको रुपमा विश्वभर चिनाउनु आफ्नो प्रमुख उदेश्य रहेको बताए ।

विश्व यात्राको क्रममा आफु जुन देश पुग्यो त्यहि देशको राष्ट्रगान गाउने र नेपालमा कम्तीमा एक पटक घुम्न आउन आह्वान गर्ने गरेको उनले बताए । ‘‘ मेरो यो नौलो यात्रा हो, अहिले संयुक्त राष्ट्रसंघमा १९४ मुलुकको राष्ट्रियगान दर्ता भएका छन्, म जहाँ जान्छु त्यही राष्ट्रको गीत गाउछु, अहिले २५ मुलुकको गीत सजिलै गाउँछु, बाँकी देशहरुको राष्ट्रगान गाउने अभ्यासकै क्रममा छु’’–विश्वयात्री नेपालीले भने ।
नेपालीले हालै बागलुङको गलकोटमा भएको अन्तराष्ट्रिय मुर्तिकला कार्यशालामा समेत त्यहाँ सहभागी भएका ११ मुलुकका राष्ट्रगान गायका थिए ।

विश्वभरका सबै मुलुकमा यात्रा गर्ने काम चुनौतिपूर्ण रहकाले यात्रालाई सरल बनाउनको लागि सरकारी, सरोकारवाला र सहयोगदाताहरुलाई आबश्यक सहयोगको लागि उनले आह्वान समेत गरे । ‘‘ सबै मुलुकको यात्रा गर्न कम्तीमा ५ करोड बढी खर्च हुने अनुमान गरेको छु, अहिले सरकारी रुपमा सहयोग नमिलेपनि अन्य क्षेत्रबाट रचनात्मक साथ पाएको छु, बाँकी यात्रामा पनि आर्थिक स्रोत जुट्ने र जुटाईदिने वातावरण मिल्ने अपेक्षा गरेको छु’’–उनले भने । कलाकार समेत रहेका गायक नेपालीले आफ्नो विश्व यात्रा कुनैपनि कारण नरोकिने बताउँदै विश्वमा नेपाललाई चिनाउने अभियानमा निरन्तर लागीरहने बताए ।

४० वर्षीय नेपाली साङ्गीतिक क्षेत्रको कुशल सर्जक पनि हुन । झण्डै २५ वर्ष गायन र सङ्गीतमा बिताएको उनको भनाइ छ । उनका ‘वर्ष दिनको मेला’, ‘जवानीमा तानेको’, ‘भिरको टुनी’ लगायत गीत सार्वजनिक छन् । नेपाली ‘गुगल’, ‘युट्युव’ संगै विभिन्न देशका दूतावासको समेत सहयोगमा विभिन्न देशका राष्ट्रगान गाउने र अभ्यास गर्नेमा व्यस्त छन् । ‘विश्व यात्रा’मा अघि बढेका नेपाली हालै धार्मिकस्थल ‘शाश्वतधाम’को सद्भावना दूतमा नियुक्त भएका छन् ।