मध्यरातमा रातढुंगामा दुई डोजरमा आगलागी
- ३ चैत्र २०७६, सोमबार
- 2866 पटक पढिएको
बेनी, ३ चैत । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगामा दुई डोजरमा गयराती आगलागी भएको छ । बेनी–दरबाङ सडकखण्ड अन्र्तगत बावियाचौरदेखि दरबाङ सम्मको सडक कालोपत्रे योजनामा परिचालित केराभान कन्सट्रक्सनको एक÷एक वटा जेसीभि र स्काभेटरमा आगलागी भएको हो ।
आगलागीबाट जेसिभि पूर्ण रुपमा क्षति भएको छ भने स्काभेटरको मध्ययम क्षति भएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । सडकको लागि बालुवा उत्खनन गरि रातढुंगाको म्याग्दी नदीको किनारमा पार्किङ गरि राखिएका दुबै डोजरमा आगलागी भएपछि प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीको करिब साढे १ घण्टाको प्रयासपछि आगलागीलाई नियन्त्रणमा ल्याईएको मालिका–६ का वडा अध्यक्ष सन्तनाथ जैसीले जानकारी दिनुभयो ।
आगलागी गर्ने समुहको खोजी भैरहेको प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो । राति करिब साढे ११ बजे अज्ञात समुहले डोजरमा आगलागी गरेका थिए । सडकको लागि आबश्यक पर्ने बालुवाको लागि मालिका गाउँपालिकाबाट बगर ठेक्कामा ल्याएर निर्माण कम्पनीले बालुवा उत्खनन् गर्दै आएको थियो ।