हिमापातले लघुजलविद्युत परियोजनाको पोल ढल्दा गुर्जा गाउँ अन्धकार
- २ चैत्र २०७६, आईतवार
- 1803 पटक पढिएको
बेनी, २ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेको इङ्लेखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । शनिवार राती परेको बेमौसमी भारी हिमपातले परियोजनाको १० वटा विद्युत पोल भाँचिएको कारण विद्युत आपूर्ति बन्द भएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, भारी हिमपातको कारण १० वटा फलामे पोल भाँचिएका छन् । ३५ किलोवाट क्षमताको यस लघुजलविद्यूत परियोजनाबाट गुर्जाका २६० घरधुरीले विद्युत सुविधा उपभोग गर्दै आएका थिए । लघुजलविद्युत परियोजनाको आपूर्ति बन्द भएसंगै बार्षिक परिक्षामा जुटेका विद्यार्थिहरुलाई साँझको समयमा अध्ययन गर्न सकस उत्पन्न भएको छ भने जनजिवन समेत प्रभावित बनेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।
यसैबिचै गुर्जा वडा कार्यालयले अबरुद्ध बनेको विद्युतलाई सुचारु गराउनको लागि तत्कालै विद्युतका पोल उपलब्ध गराउन सम्बध निकायलाई आग्रह गरेको छ । पोल नभएसम्म अबरुद्ध विद्युतलाई सुचारु गराउन नसकिने भएकाले सम्बद्ध निकायलाई पोलको तत्काल व्यवस्थापन गरिदिन आग्रह गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । विद्युत सेवा अबरुद्ध भएसंगै गुर्जामा मोवाईल चार्जको लागि विद्युतशक्तिको अभाबले सञ्चार सेवा समेत प्रभावित हुन थालेको छ ।