कोरोना भाइरस विरुद्ध म्याग्दीमा सतर्कता : मेला पर्व नगर्न निर्देशन, परिक्षा तालिका फेरवदल
- २९ फाल्गुन २०७६, बिहीबार
- 1994 पटक पढिएको
म्याग्दी २९ फागुन । छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापि रुपमा महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध नेपालमा पनि देशव्यापि सतर्कता अपनाईएको छ । अहिलेसम्म विश्वका ९० भन्दा बढी देशहरुमा फैलिएको यस भाइरसको संक्रमण अहिलेसम्म नेपालमा फैलिएको छैन् । यद्यपी नेपालको छिमेकी मुलुकबाट फैलिएको र विश्वभर नै स्वास्थ्य प्रकोपको रुप लिएको कारण जुनसुकै समयमा पनि नेपालमा यसको प्रकोप फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्व सतर्कता अपनाईएको हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोराना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिईसकेको छ ।
देशव्यापि रुपमा सतर्कता अपनाउने नेपाल सरकारको कदम अनुसार म्याग्दीमा पनि कोरोनाको संक्रमण फैलन नदिन सतर्कता अपनाईएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा मेला महोत्सवहरु नगर्न र अनुमति नदिन स्थानीय तहहरुलाई अनुरोध गरिसकेको छ । विदेशबाट नेपालमा आउने व्यक्तिहरुबाट जुनसुकै समयमा पनि कोरोनाको भाइरस भित्रन सक्ने जोखिम रहेकाले मानिसहरुलाई बाहिर हिँडडुल गर्दा माक्सको प्रयोग गर्न र साबुन पानिले राम्रोसंग हात धुने बानिको विकास गर्न स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् ।
सरकारको निर्णय बमोजिम म्याग्दीमा पनि जिल्ला प्रशासन कार्यालयले मानिसहरुको ठुलो जमघट तथा भेला हुने मेला, महोत्सव तथा प्रदर्शनी, सार्वजनिक कार्यक्रम लगायतका कार्यक्रमहरुलाई अर्को सूचना जारी नभएसम्मको लागी नगर्न नगराउनको लागि सबै स्थानीय तह र सरोकारवालाहरुलाई आह्वान गरीसकेको छ । कोरोनाको संक्रमणलाई कतैपनि फैलन नदिनु नै अहिलेको प्रमुख दायित्व रहेकाले यसको पूर्वसतर्कतामा जुट्नुपर्ने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । उहाँले कोरोनाको संक्रमणको लक्षण देखिँदा साथ विरामीलाई अस्पतालमा पु¥याउनुपर्ने र अत्याबश्यक बाहेकका धेरै मानिसहरु जमघट हुने कार्यक्रमहरुलाई रोक्नका लागि सम्बद्ध निकाय र सरोकारवालाहरुमा आह्वान गरिएको बताउनुभयो ।
म्याग्दीमा कोरोनाका लक्षण कसैलाई देखिएमा उनीहरुलाई मात्रै छुट्टै राखेर उपचार गर्ने व्यवस्थापनको लागि आबश्यक तयारीमा जुटेको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उहाँका अनुसार, गण्डकी प्रदेश सरकारसंगको छलफल र सहकार्य गरि क्वारेन्टाइन र आइसोलेसन वार्डको कसरी व्यवस्थापन गर्ने भन्ने टुंगोमा पुगिने बताउनुभयो । अहिले प्रहरीको अगुवाईमा विभिन्न स्थानमा कोरोना भाइरसको लक्षण, बच्नुपर्ने उपाए र सावधानीहरुको बारेमा माईक मार्फत सन्देशमुलक प्रचार प्रसार र स्वास्थ्य कार्यालयको अगुवाईमा स्थानीय सञ्चार माध्ययम मार्फत सचेतनामुलक सन्देश मार्फत सर्वसाधारणलाई सजक र सचेत बनाउन सुरु गरिसकिएको छ ।
शिक्षा मन्त्रालयले विद्यालयमा विद्यार्थिहरुको जमघट हुने भएकाले छिटो विद्यालयको पठनपाठनलाई रोक्नका लागि विद्यालय स्तरीय परिक्षालाई समेत चैत ५गतेभित्रै सक्न सूचना जारी गरिसकेको छ । मन्त्रालयको आह्वान अनुसार, म्याग्दीका सबै स्थानीय तहमा सामुदायिक र नीजि विद्यालयहरुको परिक्षा तालिकालाई फेरबदल गरिएको छ । अधिकाँश विद्यालयहरुले चैत ५ भित्रै परिक्षालाई सक्ने योजना सहित फागुन अन्तिम साताबाटै परिक्षा सञ्चालन गरेका छन् । यद्यपी माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) भने पूर्वनिर्धारित मितिबाटै हुने छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै एसइई परीक्षा ६ चैतदेखि नै हुने जनाएको हो ।
नेपालमा अहिलेसम्म कसैमा पनि कोरोना भेटिएन
नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण भेटिएको छैन् । कोरोनाको लक्षण देखिएका विरामीहरुलाई टेकु अस्पतालको आईसोसेलनमा राखेर उपचार गराउन थालिएको छ । अहिलेसम्म करिब ४ सय बढीको कोरोना परिक्षण गरिएपनि एक जनामा मात्रै पोजेटिभ देखिएको र उनीपनि सन्चो भएर घर फर्किसकेका छन् । अहिलेसम्मको अवस्था हेर्दा कोरोनासँग तर्सिनुपर्ने अवस्था नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विश्वका ९० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएको छ ।
नेपालमा पनि यसको संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै नेपाल भित्रने सिमा र अन्तराष्ट्रिय विमानस्थलमा समेत सरकारले स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ । यसैबिच कोरोना भाइरसबाट अति प्रभावित र जोखिम भएका देशमा अध्ययन अनुमति दिनसमेत बन्द गरिएकोे छ । चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटाली, इरानलगायतका कोरोना भाइरसबाट अति प्रभावित र अति जोखिममा भएका देशहरूमा अध्ययन गर्न तत्कालनका लागि अनुमतिपत्र नदिने भएको हो । अत्यधिक ज्वरो र रुघाखोकी लागेका विरामीहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएपनि समयमै उपचार गराएमा यस रोगबाट बच्न सकिने भएकाले उपचारमा हेलचक्राइ नगर्न नेपाल सरकारले आह्वान गरिसकेको छ । गत डिसेम्बरको अन्त्यबाट फैलिएको यस भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वभर ३ हजार ५ सय जना बढीले ज्यान गुमाइसकेका छन भने १ लाख बढीमा यसको संक्रमण देखिएको छ ।