कोरोनाको कारण बेनीमा हुन लागेको श्रीमद्भगवद गीता ज्ञान महायज्ञ स्थगित
- २७ फाल्गुन २०७६, मंगलवार
- 2113 पटक पढिएको
म्याग्दी २७ फागुन । कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै बेनीमा हुन लागेको एक प्रवचन कार्यक्रम स्थगित भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा यहि फागुन २९ गतेदेखि चैत ३ गते सम्म आयोजना गरिएको श्रीमद्भग्वद गीता ज्ञान महायज्ञ कार्यक्रमलाई स्थगित गरिएको हो ।
व्यवहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमका रुपमा आयोजना गरिएको कार्यक्रमको तयारी पुरा भएपनि विश्वव्यापि रुपमा फैलिएको कोरोनाको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै तत्काल केही समयका लागि कार्यक्रम स्थगन गरिएको जनाईएको छ ।
नेपाल सरकारको सचेतना, स्थानीय प्रशासनको अनुरोध एवं जनसमुदायको सुझाबलाई मध्यनजर गरि कार्यक्रमलाई रोकिएको संस्थाले जनाएको छ । विश्वव्यापि महामारीको समस्याको रुप लिएको कोरोनाको नेपालमा अहिलेसम्म कुनै विरामी फेला नपरेपनि जुनसुकै समयमा पनि रोगको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गरि देशव्यापि रुपमा मानिसहरुको ठुलो जमघट र भेला हुने कार्यक्रमलाई रोक लगाउन थालिएको छ । म्याग्दीमा जिल्ला प्रशासन कार्यालयले पनि अत्याबश्यक बाहेकका सार्वजनिक सभा, समारोह लगायत मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न सूचना जारी गरिसकेको छ ।