धौलागिरीमै पहिलो पटक म्याग्दीको टोड्केमा लाइभ पेन्टिङ हुने
- २८ माघ २०७६, मंगलवार
- 3789 पटक पढिएको
म्याग्दी २८ माघ । धौलागिरी क्षेत्रमै पहिलो पटक म्याग्दीमा लाइभ पेन्टिङ हुने भएको छ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि ग्लोरी फाईन आर्ट (ललीतकला) गु्रप म्याग्दीले पहिलो पटक पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङको आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष सन २०२० को अवसरमा आगामी फागुन १७ गते सो कार्यक्रम आयोजना गरिएको हो ।
पेन्टिङ मार्फत म्याग्दीलाई चिनाउने अभियान अन्र्तगत सो कार्यक्रम आयोजना गरिएको समुहका अगुवा सुरेन्द्र रानाले जानकारी दिनुभयो । उहाँका अनुसार, टोड्केमा हुने लाइभ पेन्टिङमा म्याग्दीमा रहेका चित्रकारहरुको बृहत सहभागीता रहेनेछ ।
टोड्केबाट देखिने दृष्यलाई प्रत्येक्ष हेरेर पेन्टिङ गरिने समुहका अर्का सदस्य अमृत श्रीपालीले जानकारी दिनुभयो ।
तस्बिरमा हेरेर पेन्टिङ गर्दै चित्र कोर्दै आएको सन्दर्भमा प्रत्येक्ष आफैले हेरेर चित्र कोर्ने कार्यक्रमले चित्रकारहरुको लागि नयाँ अनुभव समेत हुने उहाँको भनाई छ । यस समुहमा म्याग्दीमा रहेका १५ जना चित्रकारहरु आबद्ध छन् । समुहले टोड्केसंगै पर्यटकीय स्थल रुईसे, पुनहिल लगायतका स्थानमा समेत पुगेर लाईभ पेन्टिङ गर्ने योजना बनाएको जनाएको छ । लाईभ पेन्टिङमा कोरीने चित्रलाई प्रदर्शनी समेत गरिने जनाईएको छ ।