रत्नेचौरमा एक करोड लगानीमा पशुपालन फार्म सञ्चालन
- २७ माघ २०७६, सोमबार
- 4063 पटक पढिएको
बेनी, २७ माघ । म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा एक युवाले करोड बढी लगानीमा पशुपालन सुरु गर्नुभएको छ । छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारिलाई बिट पार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन फार्म सञ्चालनमा ल्यउाउनुभएको हो । व्यवस्थित रुपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैंसी र जर्सी जातका ७ वटा गाई रहेका छन् । रोजगारीको शिलशिलामा दुईवर्ष जापानमा विताउनुभएका श्रेष्ठले भिषाको म्याद छदै स्वदेश फर्किएर पशुपालनमा लागेको बताउनुभयो ।
धौलागिरि पशु तथा कृषि फार्म दर्ता गरेर पशुपालन सुरु गर्नुभएको उहाँले अहिले एककरोड २५ लाख लगानी गरेर भौतिक पूर्वाधार निर्माण गर्नुभएको छ । आगमी दिनमा लगानी बढाएर चार करोड रुपैयाँ सम्म पु¥याउने र धौलागिरिमै नमुना कृषि फार्म बनाएर देखाउने उहाँले योजना सुनाउनुभयो । ‘‘विदेशमा गर्ने श्रम र दुःख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अठोट बोकेर फर्किएको थिए, कृषिमा राम्रो संभावना मैले जापान पुगेर देखेँ, गाई फार्ममा काम गरेर धेरै सीप र अनुभव सिकेर स्वदेश फर्किएको हुँ ’’– उहाँले भन्नुभयो ।
कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन सुरु गरेको उहाँले बताउनुभयो । जापानमा गाई फार्ममा काम गरेको अनुभव संङ्गाल्नुभएका श्रेष्ठले त्यहाँ सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने बाटोमा अघि बढेको जानकारी दिनुभयो ।
वार्षिक तिनलाख रुपैयाँ बुझाउने गरी १२ वर्षका लागि ३५ रोपनी जग्गा भाडामा लिएर फार्मको संरचना निर्माण गर्दै गरेको उहाँको भनाई छ । यहि पुस १७ गतेबाट फार्म सञ्चालनमा ल्याउनुभएको श्रेष्ठले यहाँ चारकरोड रुपैयाँ सम्म लगानी गर्ने योजना बनाएको जानकारी दिनुभयो ।
दुई सय वटा उन्नतजातका भैंसी पाल्ने र धौलागिरिका तिन जिल्लाका सदरमुकामसम्म दुध पु¥याउने उहाँको योजना छ ।
भैंसी एकलाख ३० हजार र गाईको ७० हजारमा खरिद गरेको उहाँले बताउनुभयो । फार्ममा अहिले दैनिक एकसय १० लिटर दुध उत्पादन हुन्छ । उत्पादित दुध बागलुङ बजारमा खपत हुनेगरेको उहाँले बताउनुभयो । भैंसी र गाईको हेरचाह र दानापानी खुवाउन तिनजना कामदार राख्नुभएको छ । फार्मको क्षमता वृद्धि सँगै कामदार थप्दै जाने उहाँको योजना छ । ‘वृहतखालको कृषि फार्म सञ्चालन गर्ने र युवाहरुलाई कृषि पेशाप्रति आकर्षण बढाउने मेरो चाहना छ, उहाँले भन्नुभयो ।’
स्थानीयवासीहरुको पनि साथ र सहयोग मिलेकाले आफूलाई उत्साह मिलेको उहाँको भनाई छ । खाली रहेको जग्गालाई उपलब्ध गराउन वडा कार्यालय लगायत स्थानीयवासीहरुको सहयोग मिलेको उहाँले बताउनुभयो । बागलुङबजारमा व्यापार व्यवसाय गरेका एक युवा रत्नेचौरमा आएर नुमना कृषि फार्म सञ्चालन गर्नु उदाहरणीय कार्य भएको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । वडाकै सहजीकरणमा खाली रहेको जग्गालाई भाडामा उपलब्ध गराउने काम गरेको उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वडा कार्यालयले कार्यक्रम बनाएको उहाँको भनाई छ । रत्नेचौरमा कृषिको राम्रो संभावना रहेको उहाँले बताउनुभयो ।