बेनी अस्पतालमा लायन्स क्लब्सद्धारा १८ लाख बराबरको उपकरण सहयोग

  • २४ माघ २०७६, शुक्रबार
  • 1726 पटक पढिएको

म्याग्दी २३ माघ । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालले बेनी अस्पतालमा करिब १८ लाख रुपैयाँ बराबरको नवजात शिशुको उपचारका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरु सहयोग गरेको छ । म्याग्दीमा रहेका लायन्स क्लबहरुको पहलमा अस्पताललाई उक्त उपकरणहरु सहयोग भएको लायन्स क्लबको डेपुटी चिफ एडभाइजर सन्तोष रावलले जानकारी दिनुभयो ।


शुक्रबार डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल सहित लायन्सका विभिन्न पदमा रहेका लायन्स सदस्यहरुको सहभागितामा उक्त उपकरणहरु अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएको हो । नवजात शिशुको उपचारमा प्रयोग हुने फोटो थेरापी मेशिन, बच्चालाई न्यानो बनाउने मेशिन, सक्सन मेशिन, हेन्स सेनीटाइजर र प्रिपेशन सेट अस्पताललाई प्राप्त भएको अस्पतालकी नर्सीङ अधिकृत खेमकुमारी पन्तले जानकारी दिनुभयो ।

प्राप्त भएका उपकरणहरुले नवजात शिशुमा हुनसक्ने जन्डीसको उपचार, महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा त्यसको उपचारमा सहज हुने अधिकृत पन्तले बताउनुभयो । साथै नवजात शिशुमा स्वासप्रस्वास समस्या देखिएमा पनि ति उपकरणको सहयोगले उपचार गर्न सकिने उहाँको भनाई छ । अस्पतालमा यसअघि पनि यस्ता उपकरणहरु भएपनि अहिले प्राप्त भएको उपकरण नयाँ मोडलको भएकाले नवजात शिशुको उपचारमा थप टेवा मिल्ने अस्पताल विकास समितिका अध्यक्ष कटुवालले बताउनुभयो । उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ वि वान ३२५ का विभिन्न पदमा रहेका सदस्यहरु लगायत बेनीका लायन्स पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । लायन्सको को– चिफ एडभाइजर चन्द्रकुमार केसीको सञ्चालन र लायन्स क्लब अफ बेनीका अध्यक्ष चन्द्रप्रकाश बराइलीको अध्यक्षतामा उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।