गच्छदार दोषी ठहरिए हाम्रो के लाग्छ र ? : सञ्चारमन्त्री

  • २३ माघ २०७६, बिहीबार
  • 1744 पटक पढिएको

काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेको बताएका छन् ।

उनले जग्गा अनियमितता प्रकरणमा सम्बन्धित व्यक्तिको जिम्मेवारी र भूमिका हेरेर कसुरलाई तीन तहमा विभाजन गरी मुद्दा दायर गरिएको बताए ।  सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रीसमेत रहेका बाँस्कोटाले उक्त विषय अब अदालतमा पुगेको र अदालतको फैसला अनुसार नै सरकारले काम गर्ने बताए ।
उनले कसैप्रति आग्रह वा पूर्वाग्रहका आधारमा मुद्दा दायर नभएको प्रष्ट्याए । ‘भोलि हामी परेमा पनि जे प्रमाणित हुन्छ, त्यो व्यहोर्नुपर्छ,’ उनले भने, ‘प्रमाण स्वीकार्नुपर्छ, तथ्य स्वीकार्नुपर्छ ।’
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिएको तर कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई आरोपितका रुपमा मुद्दा दायर गरिएकोबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले तथ्य र प्रमाणको आधारमा नै मुद्दा दायर भएको बताए ।

‘दोषी ठहरिनु भयो भने हाम्रो के लाग्छ त बाबा !’ उनले भने, ‘अदालतले सफाइ दियो भने सक्किगो नि ।’ विधि र प्रक्रियालाई सबैले सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।

साभार राताेपाटी अनलाइनबाट