फलोअप : पदमार्गमा बाटो बिराएर अल्पत्र चार पर्यटकको उद्धारमा समस्या,शनिवार हेलिकप्टर मार्फत खोजी गर्ने तयारी
- १७ माघ २०७६, शुक्रबार
- kamal
- 3079 पटक पढिएको
म्याग्दी १७ माघ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गले समेटीएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा बाटो विराएर अल्पत्र परेका चार जना नेपाली पर्यटकको उद्धारमा ढिलाई भएको छ । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा विहिवारदेखि हिउँ भएको क्षेत्रमा अल्पत्र परेका अंकीत शाह समेत चार जना पर्यटकहरुको उद्धार हुन नसकेको हो । अल्पत्र परेका पर्यटकहरुको खोजीमा शुक्रवार दिनभर खोजी कार्य गरिएको भएपनि उनीहरुलाई भेट्न नसकिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । उनीहरु हराएको क्षेत्रको लोकेसन पत्ता लागेपनि दिनभर खोजीकार्य गर्दापनि उनीहरुलाई फेला पार्न नसकिएको प्रअिज ढकालले बताउनुभयो ।
उहाँका अनुसार, दुईदिनदेखि हिउँ भएको क्षेत्रमा अल्पत्र परेका पर्यटकहरु शुक्रवार साँझ सम्म पनि सम्पर्क आउन नसकेपछि उनीहरुको खोजी र उद्धारमा हेलीकप्टरको प्रवन्ध मिलाउनको लागि गृहमन्त्रालयमा आग्रह गरिएको छ । विहिवार दिउँसोदेखि बाख्लो हिउँले पदमार्ग पुृरिएको कारण जंगल क्षेत्रबाट गलत बाटोतर्फ लागेर अल्पत्र पर्ने पर्यटकहरुमा १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रवार स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीको लागि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
मोवाईल सम्पर्कबाट आफुहरु अल्पत्र परेको खवर गरेका पर्यटकहरुले आफु रहेको स्थानबारे विस्तृतमा बताउन नस्कने, मोवाईल सम्पर्क विच्छेद हुने, घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको खोजीको लागि नारच्याङबाट जानुभएका स्थानीय चुपिन पुर्जाले जानकारी दिनुभयो । दिनभर उनीहरुसंग भएको मोवाईल सम्पर्कको आधारमा अबस्था पक्ता लगाउने प्रयास गरिएपनि मोवाईल सम्पर्क विच्छेद भएको र बाख्लो हिउँ भएको कारण खोजीकार्यमा समस्या भएको पुर्जाले बताउनुभयो । उहाँका अनुसार, खोजी कार्यमा गएका युवाहरुको ठुलो स्वरमा बोलेको आवाजलाई अल्पत्र परेका पर्यटकहरुले सुनेको मोवाईल मार्फत जानकारी गराएपनि कहाँ र कस्तो अबस्थामा छन भन्ने एकिन हुन सकेको छैन् ।
खोजीकार्यको लागि शुक्रवार विहानदेखि नै जंगलतर्फ गएका युवाहरु सहित सुरक्षाकर्मी समेतको टोलीले उनीहरु रहेको स्थान पहिचान गर्न नसकेपछि नारच्याङको लेकगाउँमा झरेर बास बसेका छन् । हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भुभागमा अल्पत्र परेका युवाहरुले मोवाईल फोन मार्फत आफुहरु अल्पत्र परेको जानकारी गराउँदै उद्धारको लागि अपिल गरेका थिए । विहिवार दिउँसो खोप्रालेकबाट नारच्याङ तर्फ आउँदै गर्दा बिच बाटोमै हराएका पर्यटकहरुले रातीमात्रै मोवाईल मार्फत आफूहरु मुल पदमार्गबाट विच्छेद भएर जंगल र अनकन्टार ठाउँमा पुगेको जानकारी दिएका थिए । बाख्लो हिमपात भएको अनकन्टार क्षेत्रमा अल्पत्र परेका पर्यटकहरुको अबस्था चिसो, खानाको अभाब लगायतको कारण गम्भिर बन्न सक्ने भन्दै उद्धार र खोजीकार्यलाई थप प्रभाबकारी बनाउनुपर्ने नारच्याङका स्थानीय अगुवा तेज गुरुङले बताउनुभयो ।