रघुगंगाको सातौ गाउँसभा

  • १७ माघ २०७६, शुक्रबार
  • 1477 पटक पढिएको

 

म्याग्दी १७ माघ । रघुगंगा गाउपालिकाको सातौ गाउँसभा बिहीबार मौवाफाँटमा सम्पन्न भएको छ । नियमित हिउदे गाउसभामा चालु आर्थिक वर्षको छ महिनाको वित्तीय, भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा छलफल भएको थियो ।

गाउपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले चालु आर्थिक वर्ष २०७६ र ७७ को छ महिनाको प्रगति विवरण सार्वजनिक गरेका थिए । साउन देखि पुष सम्म ढुङ्गा, गिटी, बालुवाको ठेक्काबाट १८ लाख, सिफारिस, नाता प्रमाणित लगायत प्रशासनिक सेवा शूल्कबाट दश लाख रुपैया राजस्व संकलन भएको प्रशासकीय अधिकृृत रेग्मीले जानकारी दिए ।

उनका अनुसार गत असारमा भएको छैटौ गाउसभाले बजेट बिनियोजन गरेका ११६ वटा योजनाहरु मध्य पुष सम्म १० वटा सम्पन्न र ३५ वटा चालू अवस्थामा रहेका छन् । पुजिगततर्फ २१ र चालू तर्फ ३५ प्रतिशत वित्तिय प्रगति भएको छ । असारको गाउसभाले पूजीगततर्फ ११ करोड ५८ लाख र चालुतर्फ १९ करोड ८३ लाख गरि कुल ३१ करोड ४१ लाख रुपैयाँको बजेट पारित गरेको थियो । गाउसभाले विभिन्न कार्यक्रम र शिर्षकमा एकमुष्ठ बिनियोजित बजेटलाई योजना तथा कार्यक्रम छनौट गरेर वितरण गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाको बैठकबाट आकस्मिक खर्चका लागि गरिएका निर्णयको जानकारी र अनुमोदन भएको छ । यसैगरी झि पाखापानी सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारको समपुरक कोषबाट प्राप्त पचास लाख, गाउपालिकाको समपुरक कोषबाट ३५ लाख गरि ८५ लाख बिनियोजन भएको पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए ।

गाउसभामा अध्यक्ष भवबहादुर भण्डारीले जनशक्ति अभावका कारण सेवा प्रवाह तथा योजना कार्यान्वयनमा चुनौति देखिएपनि उपलब्ध स्रोत साधन र जनशक्तिलाई उच्चतम परिचालन तथा उपभोग गरेर अघि बढ्नुपर्ने बताए । विकास योजनाहरुलाई पारदर्शी, गुणस्तरीय र दिगो तथा जनसहभागितामुलक बनाउन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सहजिकरण, अनुुगमनमा जोड दिन निर्देशन दिएका थिए । उपाध्यक्ष कमला तिलिजाले असारे विकासको प्रवृतिलाई निरुत्साहित गर्दै योजना तथा कार्यक्रम कार्यान्वयनमा तिब्रता दिनुपर्ने बताए ।