नेकपामा भावनात्मक एकता अझै भएन

  • १५ माघ २०७६, बुधबार
  • 1277 पटक पढिएको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टी एकीकरण भएपनि पार्टीमा भावनात्मक एकता कायम गर्न नसकिएको स्वीकार गरेको छ । पार्टीको कमजोरी उपशीर्षकमा नेकपाले पार्टी एकता भएपनि भावनात्मक एकता कायम हुन नसकेको र त्यसका लागि अझै धेरै गर्न बाँकी नै रहेको स्वीकार गरेको हो ।

पार्टी एकता भएको लामो समयसम्म पनि एकीकरणको काम आधारभूत तहसम्म समयमै सम्पन्न गर्न नसक्दा सिङ्गो पार्टीलाई परिचालन गर्न नसकिएको तथा कार्यविभाजन र जिम्मेवारी तोक्न नसक्दा पार्टी प्रभावकारी बन्न नसकेको नेकपाको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी उम्मेदवार चयन प्रक्रियामा पनि कमी रहेको नेकपाले स्वीकार गरेको छ ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन तथा उपनिर्वाचनमा जित्न सक्ने सम्भाव्य उम्मेदवारहरुको सामाजिक प्रतिक्रिया र उसको लोकप्रियताबारे आंकलन गर्न नसकिएको र त्यसको कारण कतिपय स्थानमा विजय प्राप्त गर्न नसकेको नेकपाको प्रतिवेदनमा उल्लेख छ ।

सरकार तथा स्थानीय तहका कतिपय निर्णयहरुका सम्बन्धमा जनतामा उत्पन्न भएको गुनासो तथा असन्तुष्टीहरुलाई विपक्षीले मुख्य चुनौतीको रुपमा प्रस्तुत गरेको तर नेकपाले चिर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी निर्वाचनका समयमा गरिएका कतिपय प्रतिवद्धताहरु कार्यन्वयनमा लैजान नसक्दा समस्या परेको पनि नेकपाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

राताेपाटी अनलाइनबाट साभार ।